७ असार २०८३, आइतबार

पहिचान पक्षधरसँग वार्ता गर्न कोशी सरकारले बनायो वार्ता समिति

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर, २९ जेठ । कोशी प्रदेश सकारले आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर रानामगरको संयोजकत्वमा राजनीतिक तथा शान्ति वार्ता समिति गठन गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन सदस्यीय समिति गठन गरेको हो । समितिको सदस्यमा भौतिक पूर्वाधार विकासमन्त्री गणेशप्रसाद उप्रेती र आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी सदस्य हुनुहुन्छ ।

समितिमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल सदस्यसचिव रहनुहुनेछ ।

टोलीले प्रदेशको नामकरणको विरोधमा आन्दोलन गरिरहेको पहिचान पक्षधरलगायत राजनीतिकरूपमा असन्तुष्ट रहेका पक्षसँग वार्ता गरेर समस्याको समाधान खोज्ने बताइएको छ ।

त्यस्तै, मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका सदस्यहरू मनोनयन गरेको छ । आयोगको सदस्यमा काठमाडौंका डा. सीताराम बस्नेत, सोलुखुम्बु (हाल धरान)का किशोरकुमार राई, धरानका भवानी बराल र विराटनगरकी नमिता न्यौपानेलाई मनोनीत गरिएको अधिकारीले बताउनुभयो । बस्नेत र राई एमाले तथा बराल र न्यौपाने माओवादीमा आबद्ध हुनुहुन्छ ।

आयोगको उपाध्यक्षमा यसअघि नै डा. राजेन्द्र अधिकारी नियुक्त भइसक्नुभएको छ । सदस्य मनोनीत भएसँगै पूर्णता पाएको आयोग अब ५ सदस्यीय भएको छ ।