
काठमाडौं, २८ जेठ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले अचानक संसद विघटन गर्ने घोषणा गर्नुभएको छ ।
राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले तल्लो सदन नेशनल एसेम्बलीको पहिलो चरणको निर्वाचन जुन ३० र दोस्रो चरणको निर्वाचन जुलाई ७ मा हुने घोषणा गर्नुभएको हो ।
दक्षिणपन्थी पार्टीहरूले युरोपियन युनियनको चुनावमा म्याक्रोनको केन्द्रवादी गठबन्धनलाई पराजित गरेपछि म्याक्रोनले अचानक संसद भंग गर्ने निर्णय गर्नुभएको हो ।
म्याक्रोनले संसद भंगको घोषणा गर्दै इयु चुनावको नतिजा युरोपको रक्षा गर्न खोज्ने दलहरूका लागि राम्रो नभएको बताउनुभएको छ ।
राष्ट्रलाई सम्बोधन गर्दै म्याक्रोनले इयु चुनावमा राष्ट्रिय र्यालीलगायत अति दक्षिणपन्थी दलहरूले झन्डै ४० प्रतिशत मत प्राप्त गर्न सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘दक्षिणपन्थी पार्टीहरूले महादेशमा जताततै प्रगति गरिरहेका छन् । म यो अवस्थासँग सम्बन्धित हुन सक्दिन । त्यसैले मैले तपाईंलाई विकल्प दिने निर्णय गरेको छु । म आज राति नेशनल एसेम्बली विघटन गर्छु ।’ यस क्रममा उहाँले फ्रान्सेली जनताको उत्कृष्ट विकल्प रोज्न सक्ने क्षमतामा विश्वास पनि व्यक्त गर्नुभयो ।
इयु निर्वाचनमा २८ वर्षीय जोर्डन बर्डेलको नेतृत्वमा रहेको राष्ट्रिय र्याली (आरएन)ले ईयू चुनावमा ३२.३ देखि ३३ प्रतिशत मत प्राप्त गरेको छ भने म्याक्रोनको केन्द्रवादी गठबन्धनले १४.८ देखि १५.२ प्रतिशत मत प्राप्त गरेको छ ।
फ्रान्समा पछिल्लो आम निर्वाचन २०२२ मा भएको थियो ।








प्रतिक्रिया