३१ असार २०८३, बुधबार

टी-२० विश्वकप खेल्न वेस्ट इन्डिज पुगे सन्दीप

6.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ जेठ । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आईसीसी टी-२० विश्वकप खेल्न आयोजक देश वेस्ट इन्डिज पुगेका छन् ।

सन्दीप आफैले सामाजिक सञ्जालमा लेख्दै आफू वेस्ट इन्डिज पुगेको जानकारी दिएका हुन् ।  अमेरिकाले भिसा नदिएपछि रोकिएका सन्दीपले वेस्ट इन्डिजमा हुने नेपालका दुई खेलमा सहभागिता जनाउनेछन् ।

‘मलाई अमेरिकाको भिसा प्राप्त गर्न सहयोग गरेकोमा सर्वप्रथम म नेपाल सरकार, परराष्ट्र मन्त्रालय, खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र नेपाल क्रिकेट संघ (क्यान)लाई धन्यवाद दिन चाहन्छु तर दुर्भाग्यवश त्यसले काम गरेन ।’ उनले भनेका छन्, ‘तर अब ती सबैलाई पन्छाएर, म अब वेस्ट इन्डिजमा अन्तिम दुई खेलका लागि राष्ट्रिय टोलीमा आवद्ध छु र मेरो सपना र सबै क्रिकेट प्रेमीहरूको सपना पूरा गर्न तत्पर छु ।’

उनले आफ्नो यात्रालाई सम्भव बनाउनका लागि सहयोग गर्ने क्यान अध्यक्ष चतुरबहादुर चन्द, सचिव पारस खड्का, आफ्ना वकिल सरोज घिमिरेलगायतकाहरुलाई धन्यवाद दिएका छन् ।

यसअघि आजै क्यानले सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज प्रस्थान गरेको जानकारी दिएको थियो ।

क्यानका अनुसार सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धका खेल खेल्ने छन् । क्यानले यसअघि नै सन्दीपलाई नेपालको १५ खेलाडीको सूचीमा समावेश गरको थियो ।

नेपालले बुधबार श्रीलंकासँग अमेरिकामा खेल्दै छ भने त्यसपछि जुन १५ मा दक्षिण अफ्रिकाविरुद्ध र जुन १७ मा बंगलादेशविरुद्ध वेस्ट इन्डिजमा खेल्दै छ ।

यसअघि नेपालले खेलेको पहिलो खेलमा नेदरल्याण्डससँग हार बेहोरेको थियो ।