२३ जेष्ठ २०८३, शनिबार

विपीन जोशीको रिहाइको पहल जारी छ : इजरायली राजदूत गोडर

434
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कञ्चनपुर, २८ जेठ । नेपालका लागि इजरायली राजदूत हनान गोडरले हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइका लागि इजरायल सरकार लागि परेको बताउनुभएको छ ।

आइतबार साँझ कञ्चनपुरको महेन्द्रनगरस्थित विपीन जोशीको घरमा पुगेको गोडर नेतृत्वको टोलीले जोशीको पारिवारिका अवस्थाबारे जानकारी लिएको थियो । यस अवसरमा राजदूत गोडारले विपीनलाई इजरायली नागरिक सरह सम्झेर खोजी जारी राखेको बताउनुभएको थियो ।

‘विपीनले घटनाका बेला धेरैको ज्यान बचाएर आफू हमासको कब्जामा परे ।’ उहाँले भन्नुभयो, ‘यस विषयमा इजरायल सरकार सक्रिय भएर खोजीमा जुटेको छ ।’

विपीनका भाई नाता पर्ने किशोर जोशीले राजदूत गोडरसँग जोशीको परिवारले रिहाइका लागि पहल गरिदिन र उहाँको अवस्थाबारेमा जानकारी मागेको बताउनुभयो । ‘राजदूतले खोजी जारी राखेका छौँ, ढुक्क हुनुहोस् भन्नुभयो’, जोशीले भन्नुभयो, ‘उहाँले परिवारका हामी सदस्यसँग भेटघाटका लागि यहाँ आउनुभएको रहेछ ।’

जोशीले आठ महिनाभन्दा बढी समय बितिसक्दा पनि विपीनको अवस्थाबारे जानकारी हुन नसक्दा परिवार तनावग्रस्त रहेको बताउनुभयो । राजदूत गोडरसँगै सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा हेमराज पन्तसहित विश्वविद्यालयका अन्य पदाधीकारीहरु सहभागी थिए ।