६ श्रावण २०८३, बुधबार

मुलुकको बिग्रँदो अवस्था सुधार्न एमाले सरकारमा सहभागी भएको होः पद्मा अर्याल

602
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अर्घाखाँची, २७ जेठ । नेकपा (एमाले)का सचिव एवं पूर्वमन्त्री पद्मा अर्यालले मुलुकको बिग्रँदो अवस्था सुधार्न आफ्नो पार्टी सरकारमा सहभागी भएको बताउनुभएको छ ।

एमाले जिल्ला कमिटी अर्घाखाँचीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै अर्यालले एमाले मिसन २०८४ सफल बनाउने उद्देश्यसहित सरकारमा सहभागीको बताउनुभयो ।

‘एमाले अहिले गठबन्धनको सरकारमा छ । यसबाट धेरै उपलब्धि हासिल गर्न नसकिए पनि मिसन २०८४ लाई सफल बनाउने हाम्रो उद्देश्य हो । यो अभियान सफल पार्न सरकारको भूमिका पनि हुने भएकाले हामी सरकार र जनताको बीचबाट अभियान सफल पर्न लाग्ने छौँ ।’ उहाँले भन्नुभयो । रोजगारी सिर्जना र युवा पलायन रोक्न प्रमुख शक्तिका रूपमा रहेका एमाले र नेपाली कांग्रेससहित सबै लाग्नुपर्ने उहाँको भनाइ थियो ।

पोलिट्ब्यूरो सदस्य तथा लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री लीला गिरीले जनप्रतिनिधिको काम र विकास योजनामा तालमेल हुन नसकेको बताउनुभयो । आफू मुख्यमन्त्री हुँदा किसानलाई दूधमा उत्पादनका आधारमा अनुदान दिन सुरु गरेको तर अहिले बन्द भएकाले त्यस कार्यलाई अगाडि बढाउन आग्रह गर्नुभयो ।

अधिवेशनको उद्घाटन समारोहमा एमालेका पोलिटब्यूरो सदस्य तथा अर्घाखाँची इन्चार्ज ठाकुर गैरे, केन्द्रीय सदस्य चेतनारायण आचार्य, बोमबहादुर विक, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल, जनार्दन खनाललगायतले मन्तव्य राख्नुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।