
लमजुङ, २५ जेठ । नेकपा एमालेका उपमहासचिव एवं प्रतिनिधि सभा सदस्य पृथ्वीसुब्बा गुरुङले देश गणतन्त्रमा गएपनि स्थानीय जनप्रतिनिधिमा अझै गणतन्त्र आउन नसकेको टिप्पणी गर्नुभएको छ ।
लमजुङ सदरमुकाम बेसीशहरमा बिहीबार आयोजित लमजुङ दर्पण दैनिकको ११औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता गुरुङले जनप्रतिनिधिमा अझैपनि पञ्चायती कार्यशैलीको धङधङी रहेको बताउनुभयो । ‘उनीहरु आफू सरकार भएको दावा गर्छन, तर व्यवहार सरकारको जस्तो छैन् ।’ उहाँले भन्नुभयो, ‘संघीयताको कन्सेप्टअनुसार स्थानीय सरकारले काम गर्न सकेनन् ।’
‘मैले स्थानीय सरकारलाई सुरुदेखि दुईवटा काम गर्न सुझाव दिएको छु । पहिलो काम भनेको आफ्नो विपद् कोष बनाउनुहोस् । भोलि कहीँ कतै विपद् पर्दा जिल्ला प्रशासनमा गएर थोरै राहतको लागि कुरेर बस्नु नपरोस् ।’ उहाँले भन्नुभयो, ‘दोस्रो काम भनेको गरेका कामको प्रचारप्रसार गर्नुपर्यो । स्थानीय सरकारको प्रोफाइल तयार पर्ने, डकुमेन्ट्री तयार पार्ने, भिडियो बनाउने, सचेतनाका कार्यक्रम गर्ने । यी सबै काम मिडियासँग मिलेर गर्न सकिन्छ । यसले गर्दा मिडियाको संरक्षण र विकास पनि हुन्छ । स्थानीय सरकारको प्रचारपनि हुन्छ ।’
‘स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै अभ्यास गर्नेगरी व्यवस्था मिलाइएको छ । अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै अधिकार र दायित्वहरु छन् । वडाअध्यक्ष र कार्यपालिका सदस्य एउटै भूमिकाका हुन् ।’ उहाँले भन्नुभयो, ‘कार्यपालिकामा अध्यक्ष वा मेयर प्रधानमन्त्री जस्तो हुन्छ भने व्यवस्थापिकामा सभामुखजस्तो । बजेट आउनुभन्दा अगाडी नीति तथा कार्यक्रम ल्याउनुपर्यो । नीति तथा कार्यक्रम अघि बजेटका सिद्दान्त र प्राथमिकता प्रस्तुत हुनुपर्यो । स्थानीय सरकारले यसको पालना नै गर्दैनन् ।’
कार्यशैली नमिल्दा स्थानीय सरकारले चमत्कारिता देखाउन नसकेको उहाँले बताउनुभयो । स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले पनि भूमिका खेल्नुपर्ने उहाँले धारणा राख्नुभयो । उहाँले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारसँगै रैथाने बालीको परिकारमा जोड दिनुपर्ने बताउनुभयो । देशमा पर्यटन आगमनको संख्या बढाउन पोखरालगायतका अन्तराष्ट्रिय विमानस्थालहरु सञ्चालनमा ल्याउनुपर्ने धारणा राख्नुभयो ।
गण्डकी प्रदेश सभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको हिसावले निकै सम्भावनायुक्त रहेको बताउनुभयो । उहाँले यस क्षेत्रका सबैखाले पर्यटनको विकास र प्रवद्धनमा मिडियाले सकरात्मक भूमिका खेल्नुपर्ने बताउनुभयो ।
बेसीशहर नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले पर्यटनको पूर्वाधार विकासमा स्थानीय सरकारको तर्फबाट सक्दो प्रयास गरिएको बताउनुभयो ।
नेपाली कांग्रेस लमजुङका सचिव कृष्णबहादुर अधिकारीले पर्यटनको विकास गर्न युवालाई देशमै रोक्नेगरी कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँले गाउँमा युवा नै नरोकिने स्थिति बन्दा देशको सबै क्षेत्र अस्तव्यस्त बन्दै गएको बताउनुभयो ।
नेकपा (माओवादी केन्द्र) लमजुङका सचिव सुनिल सुनारले मिडियालाई सहयोग गर्दा नै देशमा भइरहेका अनियमितता, भ्रष्टाचारको उजागर र राम्रा कामका प्रचार हुनसक्ने बताउनुभयो ।
सहायक प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले स्थानीय मिडिया बचाउन सबैको ध्यानआकर्षण हुनुपर्ने बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको विकास गर्न पूर्वाधारसँगै विभिन्न आयमहरुमा सुधार गर्नुपर्ने धारणा राख्नुभयो ।
ग्रामीण पर्यटन व्यवस्थापन समिति स्मार्ट भिलेज घलेगाउँका अध्यक्ष प्रेम घलेले पर्यटन क्षेत्रको विकास र प्रचारमा मिडियाको सकरात्मक भूमिका रहेको बताउनुभयो । उहाँले घलेगाउँलाई विश्वभर प्रचार गर्न मिडियाको ठूलो भूमिका रहेको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ लमजुङका अध्यक्ष परमेश्वर अधिकारीले स्थानीय सरकारहरुले पत्रकारको संस्थागत र क्षमता विकासमा सहयोग गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले जिल्लाबाट करोडौंको विज्ञापन बाहिरिँदा स्थानीय सञ्चारमाध्यम र सञ्चारकर्मीहरु समस्यामा परेको बताउनुभयो ।
लमजुङ उद्योग वाणिज्य संघका अध्यक्ष भरतकुमार श्रेष्ठले नीजि क्षेत्र र मिडिया मिलेर अघि बढ्दा जिल्लाको पर्यटन क्षेत्रको विकास हुनसक्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य किसान संगीत नेपालीले लमजुङको समृद्धीका लागि पर्यटन विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
पत्रिकाका प्रकाशक कृष्ण केसीको अध्यक्षतामा भएको कार्यक्रममा संविधानसभा सदस्य जमीन्द्रमान घले, जिल्ला समन्वय समितिका प्रमुख पूर्णबहादुर गुरुङ, विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता थियो ।
कार्यक्रमको सहजीकरण नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य एवं पत्रिकाका सम्पादक नवीनराज कुइँकेलले गर्नुभएको थियो ।








प्रतिक्रिया