
जनकपुरधाम, २४ जेठ । मधेश प्रदेशमा जनमत पार्टीका नेतृत्वमा सरकार बनाउन आज दाबी पेश गर्ने तयारी भएको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेश सभाबाट विश्वासको मत नपाएपछि प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरूलाई दाबी पेश गर्न आह्वान गर्नुभएको छ ।
प्रदेश प्रमुख भण्डारीले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न शुक्रबार बिहान १० बजेसम्मको समय दिनुभएको छ ।
जनमतले सतीशकुमार सिंहलाई मुख्यमन्त्रीको रुपमा अगाडि सारेको छ । एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीको समर्थनमा सिंहले आजै सरकारमा दाबी पेश गर्ने तयारी गर्नुभएको छ ।
यसअघि जनमत संसदीय दलका नेता महेशप्रसाद यादवको नेतृत्वमा सरकार बनाउने चर्चा भएको भएपनि जनमतले सिंहलाई अगाडी सारेको छ ।
मधेशमा जनमत पार्टीको १३, एमालेको २४, माओवादी केन्द्रको ९, एकीकृत समाजवादीको ७ र नागरिक उन्मुक्ति पार्टीका १ सांसद गरी ५४ सांसदको समर्थनमा जनमतका सिंहलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्ने तयारी गरेको छ ।
सिंह सप्तरीको निर्वाचन क्षेत्र २ को १ बाट निर्वाचित हुनुभएको थियो ।








प्रतिक्रिया