२९ जेष्ठ २०८३, शुक्रबार

मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २३ जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज पाँचौँ पटक विश्वासको मत लिदैँ हुनुहुन्छ ।

केन्द्रमा सत्ता गठबन्धन फेरिएसँगै नेकपा (एमाले), माओवादी केन्द्र र एकीकृत समाजवादीले सरकार छोड्दै समर्थन फिर्ता लिएपछि यादव नेतृत्वको सरकार अल्पमतमा रहेको छ ।

कुनै दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री यादवले आज दिउँसो ३ बजे विश्वासको मत लिने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिनुभएको थियो भने दोस्रो पटक २०८० जेठ ३० गते विश्वासको मत लिनुभएको थियो भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिनुभएको थियो । त्यसपछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुभएको थियो ।

यसअघि विपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने निर्णय गरेको छ भने मधेश प्रदेश सरकारबाट एकीकृत समाजवादी पनि अन्तिम समयमा बाहिरिएको छ ।

केन्द्रीय गठबन्धनमा रहेका दलहरूले जनमत पार्टीको नेतृत्वमा नयाँ सरकार बनाउने तयारी गरेका छन् । यसअघि जनमतको नेतृत्वमा मधेशमा सरकार बनाउन एमाले र माओवादी सहमत भइसकेका छन् । केन्द्रको गठबन्धनले विश्वासको मत लिँदा नै जनमतलाई मधेशमा मुख्यमन्त्री दिने सहमति भएको थियो ।

१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुखसहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९/९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एकएक सांसद छन् ।