२५ जेष्ठ २०८३, सोमबार

विश्व वातावरण दिवस : ‘हाम्रो भूमि, हाम्रो भविष्य’

378
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २३ जेठ । ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने मूल नारासाथ विश्वभर बुधबार विश्व वातावरण दिवस मनाइँदै छ । नेपालमा पनि देशव्यापी रूपमा विविध कार्यक्रमको आयोजना गरी दिवस मनाइँदै छ । ‘हाम्रो भूमि’ अर्थात् पृथ्वीलाई स्वच्छ र सुरक्षित राखे मात्रै सबैको भविष्य सुरक्षित हुने सन्देश यो वर्षको नाराले दिन खोजेको छ ।

दिवसका अवसरमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विश्वभरका मानिसद्वारा सिर्जित विविध समस्याले पारेको असर न्युनिकरण गर्दै वातावरण संरक्षणका लागि गरेको प्रतिबद्धता पूरा गर्नुपर्नेमा जोड दिदै एक सन्देश जारी गर्नुभएको छ । गुटेसरले भन्नुभयो, ‘मानवता भूमिमा निर्भर छ, तैपनि संसारभरि प्रदूषणको विषाक्तता, जलवायु परिवर्तनको अराजकता र जैविक विविधताको विनाशले स्वस्थ भूमिलाई मरुभूमिमा परिणत गर्दै छ र समृद्ध पारिस्थितिक प्रणालीलाई मृत क्षेत्रमा परिणत गर्दै छ ।’

उहाँले दिगो विकासको लक्ष्य भेट्न सन् २०३० सम्ममा वन फँडानीलाई रोक्ने आ–आफ्नो नयाँ राष्ट्रिय जलवायु कार्य योजना प्रयोग गर्न पनि सुझाव दिनुभएको छ । तर, उहाँले विकासोन्मुख देशलाई ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराउनुपर्नेमा जोड दिनुभयो । ‘त्यसका लागि हामीले विकासोन्मुख देशलाई प्रतिकूल मौसममा अनुकूलन गर्न, प्रकृतिको संरक्षण गर्न र दिगो विकासलाई समर्थन गर्नका लागि ठूलो मात्रामा आर्थिक स्रोत उपलब्ध गराएर सघाउनु पर्छ ।’ महासचिव गुटेरेसले भन्नुभएको छ ।

विश्वव्यापीरूपमा भइरहेको जलवायु परिवर्तनको नकारात्मक असर र क्षतिका लागि हाम्रो भूमिका नगण्य भए तापनि नेपालले क्लाइमेट चेन्जको असर भोग्दै आएको छ । संघ, प्रदेश र स्थानीय सरकारको साथै निजी क्षेत्र, नागरिक समाज, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थालगायत सबै सरोकारवालाहरूको सामूहिक प्रयासबाट मात्र वातावरण क्षेत्रका चुनौतीहरूलाई सामना गर्न सम्भव छ । यस सन्दर्भमा, दिगो विकास, वातावरणमैत्री तथा हरित विकास र समृद्धिलाई तीनै तहका नीति तथा कार्यक्रममा प्राथमिकता दिन जरूरी छ ।