२५ कार्तिक २०८३, बुधबार

चौतर्फी घेराबन्दीको बीच एमाले मजबुत शक्ति बन्यो : ईश्वर पोखरेल

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नुवाकोट, २३ जेठ । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले चौतर्फी घेराबन्दीको बीच नेकपा (एमाले) मजबुत शक्ति बनेको बताउनुभएको छ ।

एमाले नुवाकोटको आठौँ जिल्ला अधिवेशनको लिखु गाँउपालिका-२ ढिकुरेमा मंगलबार उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले गत प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अस्वभाविक गठबन्धन गरेर एमालेलाई सिध्याउन बनाएका योजना असफल भएको बताउनुभएको हो ।

‘जनताबाट पाएको साथको उपयोग गरेर आगामी दिनमा जस्तोसुकै कठिन परिस्थितिमा विपक्षीलाई परास्त गर्नसक्ने संगठन बनाउन नेता–कार्यकर्ता लाग्नुपर्छ’, उहाँले भन्नुभयो, ‘नेतृत्व चयनमा लोकप्रिय व्यक्ति चुन्न, पार्टी सदस्यता दोब्बरले वृद्धि गर्न र जनताको मागअनुसार सेवा पुर्‍याउन केन्द्रित हुनुपर्छ ।’

‘सुखी नेपाली : समृद्ध नेपाल’ एमालेको लक्ष्य भएकाले विकास निर्माणका गतिविधि, उत्पादन र रोजगारीमार्फत त्यसलाई पूरा गर्न एमालेकै नेतृत्वमा सरकार गठन हुनुपर्ने उहाँको भनाइ छ । व्यवस्था परिवर्तनका लागि अधिकारको लडाइँ टुङ्गिएकाले अब भ्रष्टाचार, अनियमितता, बेथिती तथा समाजका कुरीतिविरुद्ध लडनुपर्ने धारणा राख्नुभयो । उहाँले रोकिएका विकास निर्माणका काममा नेतृत्व लिएर जनताको सेवामा लाग्न पार्टीका नेता–कार्यकर्तालाई निर्देशन दिनुभयो ।

मंगलबारदेखि सुरु भएको एमाले नुवाकोटको आठौँ अधिवेशनअन्तर्गत बुधबारदेखि बन्दसत्रमार्फत नयाँ नेतृत्व चयन हुने वर्तमान जिल्ला अध्यक्ष बद्री मैनालीले जानकारी दिनुभयो । उहाँका अनुसार अधिवेशनले जिल्ला अध्यक्ष, उपाध्यक्ष, सचिव, एकजना महिलासहित दुईजना उपसचिवसमेत गरी एकसय पाँच सदस्यीय नयाँ जिल्ला कमिटी चयन गर्नेछ ।