
काठमाडौं, २२ जेठ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले फोहोरमैला व्यवस्थापनमा गम्भीर समस्या रहेको बताउनुभएको छ । विश्व वातावरण दिवसको अवसरमा आयोजित दुई दिवसीय सम्मेलनमा बोल्दै मन्त्री जोशीले यस्तो बताउनुभएको हो ।
उहाँले दुई दिन सम्म चल्ने सम्मेलनबाट फोहोरमैला व्यवस्थापनको लागि कस्तो नीति नियम बनाउँदा उचित हुने सरकारलाई सल्लाह र निचोड प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘फोहोरको मुलथलो घर हो, हामीले घरबाट नै उचित व्यवस्थापन गर्न सके व्यवस्थापनमा समस्या हुँदैन ।’
त्यस्तै, आयोजक संस्थाको तर्फबाट बोल्दै क्रिएसन नेपालका संस्थापक अध्यक्ष आनन्द मिश्रले फोहोरमैला व्यवस्थापनको विषय सबैको सरोकारको विषय भएको बताउँदै खाली छलफलले मात्रै नहुने ठोस कार्यान्वयन तर्फ अगाडि बढनुपर्ने बताउनुभयो । वातावरण संरक्षण र फोहोरमैला व्यवस्थापनका लागि साझा दृष्टिकोण जरुरी रहेको बताउनुभएको छ । सबैको सामूहिक प्रयास भए मात्र फोहोरमैला व्यवस्थापन विरुद्ध काम गर्न सजिलो हुने जिकिर गर्नुभएको छ ।









प्रतिक्रिया