६ असार २०८३, शनिबार

संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै

224
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ जेठ । संघीय संसद्को दुवै सदनको बैठक आज मंगलबार पनि बस्दैछ ।

बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकमा आज पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा सभामुख देवराज घिमिरेले तीन वटा शोक प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।

२०६४ सालको संविधान सभामा ताप्लेजुङ निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित संविधान सभा सदस्य सूर्यमान गुरूङको निधनप्रति शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ । उहाँ पूर्व श्रम तथा रोजगार र स्थानीय विकासमन्त्री पनि हुनुहुन्थो ।

यस्तै, नेपाली कांग्रेसका २०४८ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित शैयद मेहराज अहमद शाहको निधनप्रति पनि बैठकमा शोक प्रस्ताव पारित गर्ने कार्यसूची छ ।

२०५८ सालमा नेपाली कांग्रेसका तर्फबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका खगेन्द्रराज रेग्मीको निधनप्रति पनि बैठकमा शोकप्रस्ताव पारित गर्ने कार्यसूची छ । रेग्मीको यही जेठ १ गते मंगलबार निधन भएको थियो ।

दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभा बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलले निरन्तरता पाउने संसद सचिवालयले जनाएको छ ।

अर्थमन्त्री वर्षमान पुनले राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि छलफलमा उठेको प्रश्नको जवाफ दिने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, प्रतिनिधि सभामा सभामुखले प्रस्तुत गर्ने तीन जना पूर्व संविधान सभा सदस्य सूर्यमान गुरूङ, प्रतिनिधि सभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रिय सभा सदस्यमा निर्वाचित खगेन्द्रराज रेग्मीको राष्ट्रिय सभामा पनि सभा अध्यक्षले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।