
काठमाडौं, २० जेठ । आइसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिका पुगेको नेपाली टोली आइतबार नेपाली समर्थकहरुमाझ उपस्थित भयो । नेपाल क्रिकेट संघ क्यानका अध्यक्षसहित खेलाडी र अफिसियलहरु सहभागी भएको कार्यक्रममा समर्थकहरुले कप्तान रोहित पौडेल र अध्यक्ष चन्द बोल्दा नेपालमै छुट्नुभएका सन्दीप लामिछानेको खोजी गरेका थिए ।
सन्दीपलाई अमेरिकन राजदूतावासले भिसा नदिएपछि जान नपाउनुभएको हो । सन्दीपको खोजी भइरहँदा कप्तान पौडेलले कुनै जवाफ दिनुभएन भने अध्यक्ष चन्दले समर्थकहरुमाझ झोक्किँदै आफूहरुले सक्दो प्रयास गरेको बताउनुभयो ।
अमेरिकामा रहेका नेपालीहरुले आयोजना गरेको फ्यान फेस्टिबलमा उपस्थित हुनका लागि ४५ डलरको टिकटको व्यवस्था गरिएको थियो भने विश्वकप क्रिकेट हेर्नका लागि १३५ रुपैयाँमा टिकट किन्न पाइने व्यवस्था गरिएको छ ।
आइसीसीबाट ४ सय टिकट पाएको क्यानले के कसरी वितरण गरेको भन्ने आधिकारिक जानकारी गराएको छैन् । बुझिए अनुसार क्यानले आइसीसीबाट १०० डलरका दरले टिकट किनेको र त्यसमा ट्क्यास जोडेर १३५ डलर कायम गरेको अमेरिकामा रहेका नेपालीहरुले जानकारी दिएका छन् ।
नेपाली क्रिकेट टिम अहिले विश्वकप खेल्न भन्दा पनि घुम्नका लागि गएको जस्तो देखिएको छ । सुरुमा फ्लोरिडामा अभ्यास गरेको नेपाली टोली त्यसपछि वेस्टइन्डिज गएर पुनः अमेरिका फर्किएको थियो । अमेरिकामा गैर आवासीय नेपाली संघले गरेको कार्यक्रममा सहभागी भएको नेपाली टोलीमा यहाँबाट गएका पदाधिकारीहरु भने मुस्किलले देखिएका थिए ।
यसैगरी, फ्यान फेस्टिबलमा पनि थोरै सहभागी भएकाहरु घुम्नकै लागि गएको भन्दै अहिले सामाजिक सञ्जालमा चर्चा भइरहेको छ । नेपाली टोली विश्वकपका लागि नेटमा हुनु पर्नेमा रेस्टुरेन्टमा रहेर कसरी अभ्यास गरिरहेको भन्दै सामाजिक सञ्जालमा नेपालीहरुले नै असन्तुष्टि जनाएका छन् ।
नेपाली टिम आइतबारको कार्यक्रम पछि सोमबार बिहानै टेक्ससमा रहेको पशुपतिनाथको मन्दिरमा दर्शन गर्न जाने तयारी गरिएको छ । नेपाली टिमले मंगलबार नेपाली समय अनुसार राति सवा ९ बजे नेदरल्याण्ड्ससँग खेल्दै प्रतियोगिताको सुरुआत गर्ने छ ।








प्रतिक्रिया