
रौतहट, २० जेठ । उपचार छोडेर पूजापाठ र ध्यानमा लाग्नुभएका रौतहटको पूर्वीभेग गढीमाई नगरपालिका-८ का वडाध्यक्ष रामाज्ञाप्रसाद यादवको निधन भएको छ ।
५५ वर्षीय अध्यक्ष यादवको उपचारको क्रममा शनिबार राति क्यान्सर अस्पताल भरतपुरमा मृत्यु भएको गढीमाईका मेयर श्यामबाबु यादवले बताउनुभएको छ ।
मलद्वारमा क्यान्सर रोगले ग्रस्त उहाँ उपचारको लागि पछिल्लो एक वर्षदेखि भरतपुर अस्पतालमा भर्ना रहनुभएको थियो । लामो समयदेखि भगन्दर रोगबाट ग्रसित यादवलाई दुई वर्षअघि क्यान्सर रोग लागेको भरतपुर क्यान्सर अस्पतालले पुष्टि गरेको थियो । त्यसको एक वर्ष लगातार क्यान्सर रोगको उपचार गराउनुभएका वडाध्यक्ष यादव धनाधन सतगुरुको गरुडास्थित आश्रममा लाग्नुभएको थियो ।
आश्रमका गुरुको सल्लाह अनुसार उहाँले क्यान्सर रोगको उपचार छोडेर एक वर्षबढी समयदेखि पूजापाठ र ध्यानमा लागेपछि उहाँको अवस्था नाजुक भएको थियो । त्यसपछि उहाँलाई पुनः उपचारको लागि क्यान्सर अस्पताल भरतपुरमा भर्ना गरिएको मेयर यादवले जानकारी दिनुभएको छ ।
मृतकको शव आजै ल्याएर गढीमाई नगरपालिकास्थित बागमती नदी किनारमा अन्तेष्टि गरिने योजना रहेको गढीमाई नगरपालिकाले जनाएको छ।
क्यान्सर रोग लागेका जनप्रतिनिधिजस्ता जिम्मेवार मानिस पूजापाठ र ध्यान जस्ता अन्धविश्वासमा लागेर ज्यान गुमाउनु ठूलो बिडम्बना रहेको छ ।








प्रतिक्रिया