२७ जेष्ठ २०८३, बुधबार

यार्सा टिप्न गएका मुगुका ४ जनाको मृत्यु, एक सिकिस्त

3.9k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु, २० जेठ । बितेका दुई दिनमा यार्सागुम्बा संकलन गर्न गएका जिल्लाका चार जनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो ।

लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र केसीका अनुसार शनिबार मुगु स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि जिल्ला सदमुकाम गमगढीतर्फ ल्याउँदा छायानाथ रारा नगरपालिका–१० तल्लेख गाउँका दुईजना सिकिस्त बिरामी जीवन बुढा र देवराज बुढामध्ये २० वर्षीय देवराज बुढाको बाटोमा मृत्यु भएको हो ।

शनिबार पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ ।

गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो ।

मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ्ग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो ।