२१ असार २०८३, आइतबार

अत्यधिक गर्मीका कारण बर्दियाका विद्यालय थप तीन दिन बन्द

644
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बर्दिया, १९ जेठ । बर्दियामा अत्यधिक गर्मीका कारण मधुवन नगरपालिकाका सबै विद्यालय थप तीन दिनका लागि बन्द गर्ने निर्णय भएको छ । यसअघि जेठ १६ देखि १८ गतेसम्म विद्यालय बन्द गरिएको थियो ।

नगर शिक्षा समितिको आजको बैठकले जेठ २२ गतेबाट सञ्चालनमा आउने गरी थप तीन दिन विद्यालय बन्द गर्ने निर्णय गएको सो शाखाका प्रमुख नारायण खनालले बताउनुभयो ।

बर्खे बिदाबाट कट्टा हुनेगरी सबै विद्यालयको प्रशासनिक कार्य गर्न/गराउन बाधा नपर्ने गरी पठनपाठन कार्यमात्र बन्द गरिएको मधुवन नगरपालिकाका शिक्षा सुपरीवेक्षक खगेन्द्रप्रसाद खनालले बताउनुभयो । बिदा घोषणा गरे पनि मौसम सुधार भएको खण्डमा भने पठनपाठन गर्न सकिने शिक्षा शाखा सुपरीवेक्षक खनालले जानकारी दिनुभयो ।

अत्यधिक गर्मी बढेका कारण जिल्ला अस्पताल तथा विभिन्न मेडिकलमा बिरामीको संख्या बढेका छन् । बिरामीको चापले अस्पतालमा शय्याको अभाव हुन थालेको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सुवास पाण्डेले बताउनुभयो । उहाँ अनुसार गर्मी र तातो हावाका कारण बिरामी हुनेको संख्या दिनप्रतिदिन बढिरहेका छन् ।

गर्मीका कारण ‘लू’ लागेका, झाडापखाला र विभिन्न प्रकारका छालाजन्य रोगका बिरामी अस्पतालमा बढी आउने गरेको डा. पाण्डेले बताउनुभयो । बालबालिकामा शरीरभर रातो बिबिरा आउने, बिबिरा पाकेर घाउ बन्ने र संक्रमण हुने भएकाले सावधानी अपनाउनुपर्ने उहाँले बताउनुभयो ।