
सिन्धुली, १९ जेठ । क्याप परियोजनाअन्तर्गत क्रिएसन नेपालले गोलन्जोर गाउँपालिकासँग मिलेर करिब २५ टन बराबरको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सुनकोशी नदीमा चुहावट हुनबाट रोकेका छन् । शुक्रबार गोलन्जोर गाँउपालिकाको खुर्कोट–७ नदीको किनारमा विगत लामो समयदेखि फोहोर डम्पिङसाइटको रुपमा परिणत भएको हटस्पटबाट उक्त परिणामको प्लाष्टिकजन्य फोहोरमैला संकलन गरी सफा गरेका छन् ।
क्याप परियोजनाअन्तर्गत आयोजना गरिएको नदी सरसफाई अयिभान परियोजनाले परिचालन गरेको युवा स्वयं सेवक (युथ कोहर्ट), सशस्त्र प्रहरीबल, नेपाल प्रहरी, ट्राफिक प्रहरी, स्थानीय सरोकारवालासँगको सहकार्यमा करिब सय भन्दाबढी सहभागीहरूले सरसफाई अभियानमा सहभागिता जनाएका थिए । ‘क्याप परियोजना’ नेपालमा प्लिज (प्लास्टिक फ्री रिभर्स एन्ड सीज अफ साउथ एशिया)को एक प्रमुख आयोजनाको रुपमा रहेको छ भने युनोप्स र विश्व बैंकको सहयोगमा दक्षिण एसिया सहकारी वातावरण कार्यक्रम (साकेप)द्वारा लागू गरिएको हो ।
सरसफाई अयिभानमा प्रमुख अतिथिको रुपमा सहभागी हुनुभएका गोलान्जोर गाउँपालिका अध्यक्ष शंकर बराललले पालिकाले गर्नुपर्ने काम क्रिएशनले गरेर हामीलाई राम्रो काम गर्न मद्दत गरिरहेको बताउनुभयो । उहाँले बढ्दो सहरीकरणले गोलन्जोर गाँउपालिकालाई फोहोरमैलाको समस्या दिन प्रतिदिन विकराल बन्दै गएको चिन्दा व्यक्त गर्दै क्रिएसन नेपालले सञ्चालन गरेको सरसफाई अभियान र फोहोरमैला व्यवस्थापन गर्ने काम प्रति पूर्ण प्रतिबद्धता रहेको बताउनुभयो ।
क्रिएशनका संस्थापक र अध्यक्ष आनन्द मिश्रले प्राकृतिक स्रोतको संरक्षणमा व्यक्तिगत जिम्मेवारीको महत्वलाई विशेष जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले प्रकृति संरक्षण जस्ता महत्त्वपूर्ण कार्यको लागि अन्य प्रेरणा वा आर्थिक सहयोगमा मात्र भर पर्नु हुँदैन । यो प्रतिबद्धता हामी सबैलाई भित्रबाट आउनुपर्छ ।’ मिश्रले राजमार्ग र खोलामा प्लाष्टिक प्रदूषण न्यूनीकरणका लागि क्रिएसनसँग सहकार्य गरेकोमा गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकर बरालको पनि प्रशंसा गर्दै धन्यवाद व्यक्त गर्नुभयो ।
क्याप परियोजना प्रमुख उज्ज्वल उपाध्यायका अनुसार यस परियोजनाको एक भागका रूपमा सबै गोलन्जोरमा नदी सरसफाईको काम सुरुवात गरेको र कम्तीमा १२ वटा नदी सरसफाई अभियान एक साथ सँगै सञ्चालन गर्ने बताउनुभयो ।
उहाँले परियोजना सञ्चालन हुने सात स्थानीय पालिकासँग परियोजना कार्यान्वयन गर्न द्धिपक्षीय समझदारी पत्रमा हस्ताक्षर गरी सकेको जानकारी गराउँदै प्रमुख नदीहरुका प्लाष्टिकजन्य फोहोर चुहावट हुने स्थानमा नदी सरसफाई अभियान सञ्चालन गरिने बताउनुभयो ।
गोलन्जोर गाउँपालिकासँगको सहकार्यमा एक्साभेटर र दुईवटा ट्रिपर परिचालन गरी पालिकाद्धारा प्रस्तावित ल्यान्डफिल साइटमा स्थानान्तरण गरेका छन् । नयाँ ल्यान्डफिल साइटको लागि बाटो खोल्नुका साथै अब सफा गरिएको हटस्पटमा फोहोर नफालिने पालिकाबाट प्रतिबद्धता जनाएका छन् ।









प्रतिक्रिया