२९ जेष्ठ २०८३, शुक्रबार

तथ्यपूर्ण सूचना सम्प्रेषणबाट विश्वसनीयता कायम हुन्छ : पूर्वराष्ट्रपति भण्डारी

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ललितपुर, १९ जेठ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नु आवश्यकता औँल्याउनुभएको छ । नेपालमा मातृभाषा पत्रकारिता सुरु भएको एक सय वर्ष पुगेका सन्दर्भ पारेर नेवाः पत्रकार राष्ट्रिय दबूद्वारा आयोजित ‘प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन’को शुभारम्भ गर्नुहुँदै उहाँले भावि पुस्तालाई आफ्नो सांस्कृतिक पृष्ठभूमिसँग जोड्नका लागि भाषिक तथा सांस्कृतिक विविधताको संरक्षण गर्नुपर्छ भन्नुभयो ।

“मातृभाषा पत्रकारिताले विश्वव्यापीरूपमा प्रभावशाली रहेका भाषाहरूद्वारा सिमान्तकृत बनाइएका स्थानीय भाषा र समुदायलाई आवाज प्रदान गर्न सहयोग पुग्दछ । विभिन्न जातजातिका भाषा र संस्कृतिको संरक्षण एवं सम्वद्र्धनमा समेत योगदान पुर्‍याउँदछ । मातृभाषामा समाचार लेख्ने पत्रकारमा स्थानीय परिस्थितिका बारेमा गहिरो जानकारी हुने हुनाले उनीहरूले आफ्ना पाठक एवं श्रोताका लागि थप सटिक र सान्दर्भिक समाचार उपलब्ध गराउन सक्दछन् । मातृभाषा पत्रकारिताले विभिन्न भाषिक समुदायबीच संवाद र आदानप्रदानका लागि स्थान प्रदान गरेर सांस्कृतिक विविधतालाई जोड्न र अन्तर सांस्कृतिक समझदारीलाई प्रववद्र्धन गर्ने काममा योगदान गर्न सक्दछ ।” उहाँले भन्नुभयो ।

उहाँले विविधताबीचको एकता नै राष्ट्रिय पहिचान, गौरव र सार्मथ्य भएको बताउनुभयो । पूर्वराष्ट्रपति भण्डारीले भन्नुभयो, “लोकतन्त्र र आमसञ्चार क्षेत्रको अन्योन्याश्रित सम्बन्ध रहेको हुन्छ । जिम्मेवार पत्रकारिता, सुसूचीत नागरिक र जवाफदेही सरकार लोकतन्त्रका परिसूचक हुन् । पत्रकारिता क्षेत्रले जिम्मेवारीपूर्ण, सन्तुलित र तथ्ययुक्त सूचना सम्प्रेषणबाट मात्र विश्वसनीयता कायम राख्न सक्दछ ।”

मातृभाषा पत्रकारिता शताब्दी वर्षका अवसरमा आयोजित प्रथम अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा नेपालका विभिन्न भाषाभाषी पत्रकारका साथै भारत, बङ्गलादेश, पाकिस्तान, जापान, श्रीलङ्कालगायतका देशका पत्रकारको सहभागिता रहेको छ । ‘भर्चुअल’ माध्यमबाट विभिन्न देशका सहभागीले भाग लिनुभएको सम्मेलन ललितपुरमा जारी छ ।