
मकवानपुर, १८ जेठ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले २०७९ को आमनिर्वाचनमा मकवानपुरमा पार्टीबाट राप्रपा नेपालका अध्यक्ष कमल थापालाई उम्मेदवार बनाउनु गलत सावित भएको बताउनुभएको छ ।
आज एमाले मकवानपुरको १२औँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुहुँदै उहाँले थापालाई उम्मेदवार बनाउनु गलत भएको बताउनु भएको हो । ‘राष्ट्रिय राजनीतिलाई एकप्रकारले सही बाटोमा अगाडि बढाउनका लागि पार्टी नेतृत्वले अलि फरक ढंगले सोच्नुपर्ने स्थिति पनि हुँदो रहेछ ।’ महासचिव पोखरेलले भन्नुभयो, ‘यद्यपि हामीले जुन विश्वासका साथ भरोसाका साथ कमल थापाजीलाई मकवानपुरको उम्मेदवार बनायौँ, त्यो गलत सावित भयो ।’
महासचिव पोखरेलले थापाले आफ्नो गृह जिल्लामा दाबी गरे जस्तो निर्वाचनमा उपलब्धी दिन नसकेको र थापाले गणतन्त्र धारमा आउनका लागि एमालेको साथ खोजेको स्मरण गर्नुभयो ।
पोखरेलले मुलुकमा राजवादीहरुलाई गणतन्त्र धारमा ल्याउन थापा एक माध्यम हुनसक्ने दृष्टिकोणले पार्टीले उहाँलाई उम्मेदवार बनाएको तर थापाको त्यो प्रतिवद्धता बनावटी रहेको र पुरानै कित्तामा रूपान्तरित भएको उल्लेख गर्नुभयो । उहाँले थापा फेरि राजावादीमा गएको भन्नुहुँदै पार्टीले थापालाई टिकट दिनु गलत सावित भएको दोहोर्याउनुभयो ।
‘कमल थापाजी राजावादी धारलाई गणतन्त्रको धारमा ल्याउनको लागि भूमिका खेल्दछु भन्ने उम्मेदवारले हार्ने रु’ महासचिव पोखरेलले थापालाई प्रश्न गर्नुभयो । पोखेरलले थापा अहिले फेरि राजावादीमा गएको टिप्पणी गर्नुहुँदै उहाँ इमान्दार नरहेको अहिले प्रष्ट भएको स्पष्ट पार्नुभयो ।
यसैगरी, महासचिव पोखरेलले पार्टीका सबै नेता तथा कार्यकर्ताहरुलाई गएको ०७९ को निर्वाचनको आत्मसमीक्षा गर्न पनि आग्रह गर्नुभयो । उहाँले पार्टी सरकारको नेतृत्व गर्नेगरी निर्वाचनमा होमिएको तर जस्तो परिणाम प्राप्त गर्नुपर्ने थियो त्यो नभएको बताउँदै सबैले आफूले आफैँलाई आत्मसमीक्षा गर्नपर्ने बेला भएको धारणा व्यक्त गर्नुभयो ।
उहाँले अघिल्लो निर्वाचनको समीक्षा गर्न आग्रह गर्दै आगमी आमनिर्वाचनमा एकल बहुमत ल्याउँने गरी पार्टीको मिसन ८४ अभियानको अभियानलाई तीव्रताका साथ अघि बढाउन निर्देश गर्नुभयो ।
यसैगरी, महासचिव पोखरेलले देशलाई विकास र समृद्धिको बाटोमा अघि बढाउने पार्टी एमाले मात्रै भएको बताउनुभयो । उहाँले पार्टी अध्यक्ष केपी ओली प्रधानमन्त्री भएको समयमा देशको आर्थिक विकासको दर तीव्र गतिमा बढेको स्मरण गर्नुभयो । अध्यक्ष ओली प्रधानमन्त्री भएको बेला तीनवर्ष लगातार मुलुकको कुल गार्हस्थ्य उत्पादन जीडिपी बढेको महासचिव पोखरेलले उल्लेख गर्नुभयो ।
उहाँले पार्टीको जिल्ला अधिवेशन र नयाँ आउने कार्यसमतिलाई शुभकामना दिनुहुँदै पार्टीको मिसन ८४ केन्द्रीत हुन निर्देशन दिनुभयो ।
यसैगरी, अधिवेशनलाई सम्बोधन गर्नुहुँदै एमाले स्थायी कमिटी सदस्य तथा बागमती प्रदेश इन्चार्ज गुरु बरालले जिल्लाको सबै वडाको टोल बस्तीमा पार्टी विस्तार गरेर जनताको मन जित्नेगरी पार्टीका गतिविधि बढाउन आग्रह गर्नुभयो । उहाँले युवा नेतृत्व विकासको काम गर्न आग्रह गर्दै युवाहरुलाई संगठित गरी जिम्मेवारी दिन निर्देशन दिनुभयो ।
उहाँले विषयगत क्षेत्रलाई ध्यान दिँदै कृषिजन्य उत्पादनमूलक काम गर्दै आर्थिक सबलीकरण गर्नतर्फ ध्यान दिनुपर्नेसमेत बताउनुभयो । उहाँले जिल्लाको पूँजीलाई उत्पादनमूलक क्षेत्रमा लगानी गर्नपनि आग्रह गर्नुभयो ।








प्रतिक्रिया