
गुल्मी, १७ जेठ । यहाँको मदाने गाउँपालिका–१ स्थित अग्लुङ गाउँमा उमेर पुगेर विवाह गर्ने जोडीलाई बुधबार वडा कार्यालयले सम्मान गरेको छ ।
शैक्षिक उत्प्रेरणा कार्यक्रमअन्तर्गत सामाजिक सचेतनाका लागि २० वर्ष उमेर पूरा गरी विवाह गरेका तीन जोडी नवविवाहित दम्पतीलाई वडा कार्यलयले सम्मान गरेको वडाध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
‘विवाहबारी–२० वर्ष पारी’ भन्ने मूल उद्देश्यका साथ बालविवाह न्यूनीकरण गर्न वडा कार्यालयले कार्यक्रम गरेको उहाँले बताउनुभयो ।
वडाले असल बुहारी तथा छोरीलाई पनि सम्मान गरेको छ । वैदेशिक रोजगारीमा छोराहरु जाने तथा बुहारीहरु छोराछोरी पढाउन सहर पस्ने चलन बढेको छ । बुहारीहरु सहर पसेपछि गाउँमा वृद्धवृद्धाहरु मात्रै हुन थालेकाले वृद्ध बुबाआमाले दुःख पाएको अवस्थामा सासूससुरा तथा बुबाआमासँगै रहेर पालनपोषण गरेका बुहारी तथा छोरीहरुलाई वडाले सम्मान गरेको हो । शैक्षिक उत्प्रेरणा कार्यक्रममार्फत १० जना असल बुहारीलाई सम्मान गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाले उत्कृष्ट शिक्षक, उत्कृष्ट किसान, उत्कृष्ट विद्यार्थी, उत्कृष्ट कर्मचारी र उत्कृष्ट सामाजिक संघसंस्थालाई समेत सम्मान गरेको छ । विभिन्न विधामा रहेर वडाका लागि योगदान गरेकाहरुलाई दोसल्ला सम्मानपत्रसहित सम्मान गरिएको वडाध्यक्ष चन्दले जानकारी बताउनुभयो ।
कार्यक्रममा एसइईमा उत्कृष्ट हुने विद्यार्थीलाई रु १० हजार, कक्षा ८ मा उत्कृष्ट हुनेलाई रु पाँच हजार तथा कक्षा ५ मा उत्कृष्ट हुने विद्यार्थीलाई रु तीन हजार नगदसहित सम्मान गरिएको छ ।








प्रतिक्रिया