४ असार २०८३, बिहिबार

विपक्षी दलहरूको बैठकमा माधव नेपाल सहभागी

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ जेठ । विपक्षी दलहरूको बैठकमा सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल सहभागी हुनुभएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको विपक्षी दलहरूको बैठकमा नेपाल सहभागी हुनुभएकोहो ।

बैठकमा विशेष गरी मधेश प्रदेशको सरकार गठनका विषयमा छलफल भएको थियो । जसपा नेपालको नेतृत्वमा रहेको मधेश प्रदेसको सरकार एमाले र माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा रहेको छ ।

यस बैठकमा सभापति देउवाले मधेश प्रदेशमा नयाँ समीकरण बनाएर अगाडी बढ्नुपर्ने र त्यसलाई केन्द्रसम्म अगाडी बढाउनुपर्ने प्रस्ताव गर्नुभएको थियो ।

साथै देउवाले एकीकृत समाजवादीलाई सरकार छोडेर वैकल्पिक सरकारको पक्षमा उभिन आग्रह गरेको बैठकमा सहभागी सांसद मेटमणि चौधरीले जानकारी दिनुभएको छ ।

बैठकमा जसपा नेतृत्वको मधेश सरकार जोगाउनुपर्ने विषयमा छलफल भएको थियो । कांग्रेस, जसपा नेपाल, एकीकृत समाजवादी, लोसपास एक ठाउँमा आउँदा मधेशमा केन्द्रीय सत्ता गठबन्धनविरुद्धको सरकार बन्ने देखिन्छ ।

मधेशमा कांग्रेसका २२, जसपा नेपालका १९, एकीकृत समाजवादीका ७ र लोसपाका ८ गरी ५६ सांसद छन् । १०७ सदस्यीय मधेस प्रदेश सभामा बहुमतका लागि ५४ सांसद आवश्यक पर्छ ।

बैठकमा कांग्रेसका पदाधिकारीहरूसहित एकीकृत समाजवादीका अध्यक्ष नेपाल, सांसद चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपाका अध्यक्ष महन्थ ठाकुर र नेता शरदसिंह भण्डारीलगायतको सहभागिता थियो ।