
हेटौंडा, १६ जेठ । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा कार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
बुधबार साँझ भीमफेदी-कुलेखानी-काठमाडौं सडकमार्गमा काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा ६ च ९३७९ नम्बरको कार आफै अनियन्त्रित भई सडकबाट अन्दाजी २५० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा मकवानपुरको मनहरी गाउँपालिका-८ बेलुवा बस्ने २६ वर्षीय अर्जुन नेपाली र उहाँकी तीनमहिने छोरी अर्जिताको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते हुनुभएका अर्जुनलाई थप उपचारको लागि हेटौंडा अस्पताल ल्याइएकोमा डाक्टरले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
यसैगरी, दुर्घटनामा घाइतेहरुको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया