३१ असार २०८३, बुधबार

सन्दीप नेपालमै, क्यानका पदाधिकारी श्रीमतिसहित अमेरिका उडे

9.7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १६ जेठ । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आईसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन् । क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसक्नुभएको छ ।

उहाँहरु मंगलबार अमेरिका प्रस्थान गर्नुभएको हो । अध्यक्ष चन्द आईसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामासमेत समावेश हुनुहुन्छ । विश्वकप खेल्ने टिमका लागि आईसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ । जसले गर्दा उहाँहरु बिजनेस क्लासमा यात्रा गर्नुहुन्छ भने अमेरिका बसाईको खर्च पनि आईसीसीले नै व्यहोर्ने गर्छ ।

आईसीसले क्यानलाई १५ जना खेलाडी, प्रशिक्षक र अफिसियलको कोटा उपलब्ध गराएको थियो । क्यानकै सदस्य दिवाकर घले टिम लिडरको रुपमा रहनुभएको छ । नेपाली टिम झण्डै १ महिना अघि गए पनि घले भने गत साता मात्रै अमेरिका प्रस्थान गर्नुभएको थियो ।

यस्तै, अर्का केन्द्रीय सदस्य प्रदीप मजगैंया म्यानेजरको भूमिकामा रहेर टिमसँगै गइसक्नुभएको छ ।

अध्यक्ष चन्द नेपाली कांग्रेसका बैतडी सभापति पनि हुनुहुन्छ । उहाँले काठमाडौंको नार्गाजुन नगरपालिकाका मेयर मोहन बस्नेतलाई पनि विश्वकपका लागि अमेरिका लगेको सामाजिक सञ्जालबाट प्रस्ट हुन्छ । सचिवसहित अन्य केन्द्रीय सदस्यहरु पनि केही दिनमै अमेरिका प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ ।

विश्वकपका लागि युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषदका अन्य व्यक्तिहरु पनि जाने तयारीमा रहेको बुझिएको छ । तर, नेपाली क्रिकेट टिमलाई विश्वकपमा पुर्‍याएका सन्दीप लामिछानेको भने भिसा नपाउँदा अमेरिका जाने प्रक्रिया अन्यौलमा छ । लामिछानेको विश्वकप खेल्ने अन्यौल भएका बेला क्यानका पदाधिकारीहरु श्रीमतिसहित अमेरिका गएपछि सामाजिक सञ्जालमा क्यानको आलोचना भएको छ ।

यसअघि सन्दीपको भिसा २०२५ सम्म रहेकोमा उच्च अदालत पाटनबाट सफाइ पाएपछि भिसा रद्द भएको जानकारी गराइएको थियो । त्यसपछि नयाँ प्रक्रिया सुरु गर्दा अमेरिकी दूतावासले उहाँको भिसा रिजेक्ट गरेको थियो ।

यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन् । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको उहाँ निकट स्रोतले जनाएको छ ।

भिसाको विषयमा उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग कुरा गर्न जाँदा मन्त्रीले घुमाउरो तरिकाले आफूले नसक्ने जनाउँ दिइसक्नुभएको छ । पछिल्लो समय प्रधानमन्त्री पुष्पकमल दाहालले भिसाको लागि प्रयास जारी राखिएको जवाफ सन्दीप निकट स्रोतलाई दिएपनि आज दिनभरीमा सकारात्मक परिणाम नआए सन्दीपले विश्वकप खेल्न नपाउने निश्चित जस्तै छ ।