
काठमाडौं, १५ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गणतन्त्रको संस्थागत विकासबाटमात्रै मुलुकलाई सम्पन्न बनाउन सकिने बताउनुभएको छ ।
मंगलबार १७औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत विकासबाट मात्रै अब मुलुकलाई सभ्य, सुखी र सम्पन्न राष्ट्रका रूपमा रुपान्तरण गर्न सकिने बताउनुभएको हो ।
नेपाली जनताको त्याग, बलिदान र उत्सर्गबाट प्राप्त यो ऐतिहासिक उपलब्धिको रक्षार्थ सबैले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्न आवश्यक रहेकोमा उहाँको जोड छ ।
सभापति देउवाले लोकतन्त्रको स्थापना र पुनःस्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा देशका थुप्रै होनहार सन्ततिले गौरवपूर्ण शहादत प्राप्त गरेका भन्दै आफ्नो जीवन उत्सर्ग गर्ने सबैप्रति सम्मान व्यक्त गर्नुभएको छ ।
‘नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२/०६३ सफल भएको थियो । आन्दोलनपश्चात् कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारले संविधानसभाको निर्वाचन सम्पन्न गरेको थियो,’ देउवाले भन्नुभएको छ, ‘गणतन्त्र कार्यान्वयनका लागि विसं २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकमा पेस गरेको प्रस्ताव पारित भई नेपालमा राजतन्त्रको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको हो । यो दिनलाई स्मरण गर्दै हरेक वर्ष गणतन्त्र दिवसका रुपमा मनाउँदै आएको छ ।’








प्रतिक्रिया