
काठमाडौं, १५ जेठ । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुने बताउनुभएको छ ।
गणतन्त्र दिवसको अवसरमा दिनुभएको शुभकामना सन्देशमा अध्यक्ष ओलीले भन्नुभएको छ, ‘जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ । हामीले अधिकार पाएका छौँ, सँगसँगै कर्तव्य पनि नभुलौँ ।’
नेपाली नागरिकले अधिकार प्राप्त गरेको दिनका रूपमा गणतन्त्र दिवसको स्मरण गर्दै उहाँले सबै नेपाली दिदीबहिनी, दाजुभाइमा शुभकामना व्यक्त गर्नुभएको छ । अध्यक्ष ओलीले हामीले अधिकार प्राप्त भएसँगै कर्तव्य पनि भुल्न नहुने बताउनुभएको छ ।
अध्यक्ष ओलीले आजको दिन एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन भएको शुभकामनामा उल्लेख गर्नुभएको छ ।
अध्यक्ष ओलीले भन्नुभएको छ-
आज गणतन्त्र दिवस। एक वंशको विशेषाधिकार अन्त्य गरी नेपाली जनता आफैंले चुनेका प्रतिनिधिबाट शासकीय व्यवस्था तय गरेको दिन। गणतन्त्र दिवसको सबैलाई शुभकामना !
आफूले चुनेका प्रतिनिधिले गल्ती गरे उनीहरूलाई चुनावबाट फेर्न यही व्यवस्थामा मात्र पाइन्छ। कहिलेकाहीं हामी गलतलाई चुन्न सक्छौं, तर गलत चुनियो भन्दैमा चुन्ने अधिकार गलत हुन सक्दैन। गलतको ठाउँमा सही चुन्ने विकल्प नै गणतन्त्रमा हुन्छ । जनताले चुन्ने अधिकार नै गलत हो भन्ने यदाकदा सुनिने भाष्य आफैं गलत छ। हामीले अधिकार पाएका छौं, सँगसँगै कर्तव्य पनि नभुलौं।
सबैलाई शुभकामना!
जय गणतन्त्र !!
जय जय जय नेपाल !!!








प्रतिक्रिया