३० असार २०८३, मंगलबार

सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

10.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नवलपरासी, १५ जेठ । पूर्वपश्चिम राजमार्गको नारायणगढ–बुटवल सडकखण्डअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा सडक भासिँदा राजमार्ग अवरुद्ध भएको छ ।

सोमबार साँझदेखि परेको वर्षाका कारणका गएराति २ बजेको समयमा गैँडाकोट–९ थुम्सीको जङ्गलमा सडक भासिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक बेदबहादुर पौडेलले निर्माणाधीन सडक भासिँदा राजमार्ग दुईतर्फी नै अवरुद्ध भएको जानकारी दिनुभयो । अवरुद्ध सडकमा ट्रक फसेकाले त्यसलाई हटाउने कार्य भइरहेको उहाँले बताउनुभयो ।

यसैबीच, भासिएको सडकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु१ख ८५१३ नम्बरको यात्रुबाहक बसमा एक्कासी ब्रेक लगाउँदा त्यसमा सवार आठ यात्रु सामान्य घाइते भएका छन् । ब्रेक लगाउँदा बस हुत्तिएर अर्को बसमा ठोक्किन गई यात्रु घाइते भएका प्रहरी नायव उपरीक्षक पौडेलले बताउनुभयो । सडक एकतर्फी भए पनि खुलाउने प्रयास भइरहेको उहाँले बताउनुभयो ।