३१ जेष्ठ २०८३, आइतबार

जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक भयो : शेखर कोइराला

448
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ जेठ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनताले दुःख गरेर सहकारीमा राखेको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताउनुभएको छ ।

नेपाल विद्यार्थी संघ आयुर्वेद क्याम्पस इकाई समितिले सोमबार यहाँ आयोजना गरेको ‘नवआगन्तुक विद्यार्थीलाई स्वागत कार्यक्रम’मा बोल्दै उहाँले जनताको पैसा हिनामिना हुँदापनि सरकार मुकदर्शक बनेर बसिरहेको बताउनुभएको हो ।

उहाँले कांग्रेसले सहकारी पीडित जनताको समस्यालाई संसद र सडकबाट उठाएको बताउनुभयो । डा.कोइरालाले कांग्रेसलाई कुनैपनि राजनीतिक दलले संसदीय व्यवस्थाको बारेमा सिकाउन नपर्ने बताउनुभयो । ‘संसदीय व्यवस्थामा संसद प्रतिपक्षको भन्ने गरिन्छ । तर यहाँ सत्तापक्षले प्रतिपक्षको कुरालाई सुन्दै नसुनीकन अगाडि बढ्न खोजेको छ,’ उहाँले भन्नुभयो ।

नेता डा.कोइरालाले छिटो भन्दा छिटो सहकारी ठगीमा समिति बनाएर अगाडि बढ्न सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले पछिल्लो समय चारैतिर अराजगताले देशलाई घेरिरहेको भन्दै यसलाई सही दिशामा अगाडि बढाउनुपर्ने बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई सरकारमा जाने हतारो नभएको भन्दै कांग्रेसले सत्ताभन्दा पनि देशलाई प्राथमिकतामा राखेर अगाडि बढ्ने स्पष्ट पार्नुभयो । सहकारीको पैसा हिनामिना हुँदा सरकार मुकदर्शक बनेर बसेको उहाँको भनाई छ ।

‘राजनीतिक स्थायित्व, आर्थिक विकास र सुशासन मेरो अभियान हो, यसलाई अगाडि बढाउन म दृढताका साथ लाग्नेछु,’ डा.कोइरालाले भन्नुभयो । उहाँले नेपालमा आयुर्वेदिक शिक्षाको महत्व दिन प्रतिदिन बढ्दै गएको बताउनुभयो । राज्यले आयुर्वेदिक विज्ञानलाई जसरी अगाडि बढाउनुपर्ने हो त्यो बढाउन नसकेको उहाँको भनाई छ ।

डा.कोइरालाले आयुर्वेदको अनुसन्धान गर्न के ले बाधा पुर्‍यायो त्यो बुझ्न जरुरी रहेको उल्लेख गर्नुभयो । विद्यार्थीको समस्या देशको समस्या भएकाले यसको समाधानका लागि राज्य लाग्नुपर्ने उहाँको भनाई छ । ‘तपाइँहरुको भविष्यका लागि मैले राजनीतिक गरेको हुँ, युवाहरु विदेश पलायन हुँदा मलाई चिन्ता लागेको छ । युवालाई स्वदेशमा रोजगारी दिने वातावरणमा लाग्नुपर्छ,’ उहाँले भन्नुभयो ।

उहाँले लोकतान्त्रिक गणतन्त्रको विकल्प विश्वमा अरु व्यवस्था नभएको बताउनुभयो । नेता डा. कोइरालाले संविधानमा भएको कमी कमजोरीलाई समाधान गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।