सोमबार, ३ असार २०८१
DainikNepal.com
सोमबार, ३ असार २०८१

एमाले राजमार्गमा, अरू गन्तव्यहीन गोरेटोमा

दैनिक नेपाल २०८१ जेठ १० गते ७:५०

-निर्मल भट्टराई

वर्तमान सत्ता गठबन्धनको किङ मेकर नेकपा (एमाले) र यसका अध्यक्ष केपी शर्मा ओली अहिले सबैतिर प्रशंसाको पात्र बन्नुभएको छ । विगतको अप्राकृतिक एवं स्वार्थप्रेरित गठबन्धन तोडेर जनताको पक्षमा काम गर्ने, एमालेले तय गरेको राष्ट्रिय लक्ष्य ‘सुखी नेपाली, समृद्ध नेपाल’को लागि काम गर्ने सरकार बनेपछि जनतामा व्याप्त निराशा विस्तारै हट्न थालेको छ । अर्कातिर यो सत्ता उलटफेरले देशीविदेशी प्रतिक्रियावादी शक्तिलाई मुर्छा पर्ने गरी औडाहा भएको छ ।

एमालेको मुख्य हिस्सा र प्रभाव रहेको वर्तमान सरकारलाई काम गर्न नदिन सरकार बनेदेखि नै नेपाली कांग्रेस र अरू दक्षिणपन्थी दलहरू विभिन्न षडयन्त्रमा सामेल भएका छन् । सामान्य विषय उचालेर संसद अवरुद्ध गर्ने, सत्तारूढ दलका नेताहरूलाई प्रधानमन्त्री पदको ललिपप देखाएर भाँड्न खोज्ने र सडक प्रदर्शनमार्फत् थप अराजकता र अस्तव्यस्तता सिर्जना गर्ने प्रयास हुन थालेका छन् । सत्ता नभई बाँच्न नसक्ने नेपाली कांग्रेस र अरू दलहरू यस्ता कार्यमा सामेल भएका छन् । विपीदेखि प्रदीप गिरिसम्मले समाजवादको कुरा गरे पनि अब त्यो पार्टीमा समाजवादको चिन्तन गर्ने नेता कोही छैन् । कांग्रेसीजन केवल सत्ताको कुरा गर्छन् । सत्तामा पुगेर दलाल पूँजीपति वर्गको सेवा गर्ने बाहेक कांग्रेसको कुनै गन्तव्य बाँकी रहेको देखिँदैन ।

झण्डा र कम्युनिष्ट पृष्टभूमिमा समानता रहे पनि माओवादीलगायतका वामपन्थी दलमा कहाँ पुग्ने र कसरी पुग्ने भन्नेमा ठूलै भ्रम र अन्यौल छ । विगतका माओवादीहरू माओवादको धोती खुस्केको दशकौं भइसक्दा पनि आफूलाई माओवादी भन्न छोडेका छैनन् । निर्वाचनबाट श्रेष्ठता हासिल गर्ने एमालेको लाइन वा जनताको बहुदलीय जनवादको चुरोलाई आफ्नो राजनीतिक जीवन-व्यवहारमा आत्मसात गरे पनि उनीहरू अझै ‘माओवादी’ नै छन् । विचारमा अन्योल भएपछि उनीहरूको डाइनोसर लोप भए जसरी लोप हुने खतरा बढ्दै गएको छ । आफ्नो राजनीतिक अस्तित्वको लागि कहिले कांग्रेसको पोल्टामा लुटुपुटु गर्नुपर्ने त कहिले एमालेको छातामा ओत लाग्न आउनु पर्ने बाध्यता उनीहरूलाई छ । कुरा ठूला-ठूला गर्ने तर साना-साना काम सम्पन्न गर्न पनि भाँती नपुर्‍याउने ‘माओवादी’हरूको चिरपरिचित शैली हो । गन्तव्यहीन गोरेटोमा भौंतारिएका माओवादीलगायतका साना वाम शक्तिलाई समेटेर मार्क्सवादी-लेनिनवादी र जनताको बहुदलीय जनवादी राजमार्गमा सँगै हिँडाउने अभिभारा पनि एमालेकै काँधमा छ।

नयाँ दलको हालत दिनानुदिन पातलिँदै गएको छ । रास्वपालगायतका नवोदित दलहरू आर्थिक अपचलनको विवाद र आन्तरिक विवादले आफैं थिलथिलो बन्दै गएका छन् । पुराना दललाई गाली गरेर उदाएका ती दलका नेताहरू नै आज जनताको गालीको शिकार भएका छन् ।

ठिक यतिबेला नेकपा (एमाले) गठबन्धन सरकारमार्फत् राष्ट्र निर्माणमा दत्तचित्त भएर लागेको छ भने अर्कातिर ‘मिसन ग्रासरुट’, संकल्प-यात्रा तथा अधिवेशन-सम्मेलनमार्फत् पार्टीलाई मजबुत, एकताबद्ध र सुदृढ बनाउने अभियानमा लागेको छ । ‘मिसन ग्रासरुट’ले पार्टीका तृणमूल तहका समस्या पार्टी केन्द्रमा ल्यायो भने संकल्प-यात्राले मध्यपहाडी क्षेत्रका जनताले भोगिरहेका समस्या समाधानमा पार्टी र राष्ट्रलाई वृहत् पृष्टपोषण गरायो । अहिले नेकपा (एमाले) जिल्ला अधिवेशनको अभियानमा जिल्ला-जिल्लामा पुगेको छ ।

स्तालिन र ट्राटस्कीकोबीचमा लामो वैचारिक संघर्ष भयो । स्तालिनसँग सधैं पराजित ट्राटस्कीले स्तालिनप्रति संकेत गर्दै एकपटक भन्नुभएको थियो-‘राजनीतिमा के गरियो भन्ने महत्वपूर्ण रहेनछ, कसले कसरी गर्‍यो भन्नेचाहिँ महत्वपूर्ण हुने रहेछ ।’

सत्ता त सत्तै चलाउने हो, मनमोहन अधिकारीले फरक तरिकाले चलाउनुभयो, देउवाले अर्कै तरिकाले । प्रचण्ड र केपी शर्मा ओलीले कसरी सत्ता चलाउनुभयो, सबैकासामू छर्लङ्गै छ । पार्टी त पार्टी चलाउने नै हो, तर मदन भण्डारीले चलाएको बेलाको एमाले, माधवले चलाएको बेलाको एमाले र केपी शर्मा ओलीले चलाएको एमालेमा कति फरक छ । आज नेकपा (एमाले) प्रमुख राष्ट्रिय शक्तिको रूपमा विकसित हुँदैछ । आगामी आम निर्वाचनबाट प्रष्ट बहुमत पाउने र समाजवाद निर्माणमा युगिन महत्वका कार्यभार पूरा गर्ने लक्ष्य बोकेर अगाडि बढेको छ ।

एमाले मार्क्सवादी-लेलिनवादी र जनताको बहुदलीय जनवादी राजमार्गबाट समाजवादी गन्तव्यमा अगाडि बढेको छ तर सुस्पष्ट गन्तव्य नभएका र सत्ताको लुछाचुँडीमा रमाउने दलहरूका कारण देशमा पटक-पटक अनेकन समस्या सिर्जना भए, भइरहेछन् ।

प्रतिक्रिया
सम्बन्धित