२५ असार २०८३, बिहिबार

पचास प्रतिशत काम सकिएका योजनालाई निरन्तरता दिन्छौँ : मुख्यमन्त्री कँडेल

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कर्णाली, २ जेठ । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले ५० प्रतिशत काम सकिएका योजनालाई निरन्तरता दिने बताउनुभएको छ ।

प्रदेश सरकारको आर्थिक वर्ष ०८१/८२ का नीति तथा कार्यक्रम कस्तो ल्याउने भन्ने विषयमा मंगलबार यहाँ आयोजित ‘पत्रकारहरुसँग विमर्श तथा सुझाव संकलन’ कार्यक्रममा मुख्यमन्त्री कँडेलले प्रदेश सरकारले विगतकै नीति तथा कार्यक्रममाथि टेकेर आगामी नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले विगतलाई छोडेर नयाँ नीति तथा कार्यक्रम र बजेट आउँदैन । पचास प्रतिशत काम भएका योजना पूर्णताका लागि सरकारले प्राथमिकतामा राख्छ ।”

संघीय सरकारको कूल बजेटको दुई प्रतिशत मात्र कर्णालीमा आएको बताउनुहुँदै उहाँले यहाँको भूगोल, विकटता र विकासको अवस्थालाई हेरेर संघीय सरकारले बजेट विनियोजन गर्नुपर्नेमा जोड दिनुभयो । कर्णालीको विकास र समृद्धिका लागि सुर्खेत–हुम्ला, सुर्खेत–डोल्पा, कालीकोट–मुगु–नाक्चेलाना र चार लेनको कोहलपुर–सुर्खेत सडकलाई राष्ट्रिय गौरवका आयोजना घोषणा गरी अगाडि बढाउन संघीय सरकारसँग माग गरेको जानकारी दिनुभयो ।

उहाँका अनुसार कर्णालीका मूलभूत समस्या र सम्भावनाबारे अवगत गराएर ती आयोजना निर्माणका लागि अलग्गै संरचना निर्माण गरी आवश्यक जनशक्ति र स्रोत व्यवस्थापन गर्न संघीय सरकारलाई मागपत्र पेश गरिएको छ । प्रदेश सरकार अहिले नीति तथा कार्यक्रम र बजेट निर्माणको पूर्वतयारीमा लागेकाले संस्थागतरुपमा आउने योजनालाई बजेटमा संलग्न गरिने उहाँको भनाइ छ ।

कँडेलले भन्नुभयो, “रोजगारका निम्ति एक सय एक जना लाइनमा छन् तर मैले सरकार सञ्चालनमा सहयोग गर्ने मान्छे खोजिरहेको छु । यहाँको जनमत र कर्णाली बनाउने गरी हामी एकसाथ अगाडि बढौँ । विकासमा सबैको अपनत्व गराउन र नीति तथा कार्यक्रममा राय आओस् भन्ने हेतुले सबै दल तथा नागरिक समाजसँग सुझाव लिँदैछु ।” उहाँले पत्रकारका समस्यालाई सम्बोधन हुने नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।