२४ जेष्ठ २०८३, आइतबार

फ्रान्स उडे मेयर बालेन

2.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १ जेठ । कान्स फिल्म फेस्टिभलमा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाह फ्रान्स प्रस्थान गर्नुभएको छ । कान्सका मेयर डेभिड लिसनार्डको निम्तोमा उहाँ फेस्टिभलमा  मंगलबार बिहान २ः१५ बजे त्यसतर्फ प्रस्थान गर्नुभको हो ।

बालेनसँगै व्यवस्थापन सल्लाहकार कुमार व्यञ्जनकार र पूर्वाधार सल्लाहकार सुनिल लम्साल रहनुभएको छ । उहाँहरुलाई महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियार र प्रशासन विभागका प्रमुख दीपक अधिकारीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विशिष्ट कक्षबाट विदाइ गर्नुभएको थियो ।

कान्स र काठमाडौं दुवै युनेस्कोको ‘क्रिएटिभ सिटी’को चलचित्र विधाका सदस्य नगर हुन् । कान्सका मेयरले प्रमुख शाहलाई पठाएको निमन्त्रणा पत्रमा भनिएको छ, ‘फेस्टिभल क्रिएटिभ सहरलाई एक ठाउँमा ल्याउने अवसर हो । फेस्टिभलमा अन–एयर शीर्षकमा सञ्चालन हुने अडियो भिजुअल कन्टेन्ट चेनबारे जान्न सजिलो हुनेछ ।’

प्रमुख शाह फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ । त्यस क्रममा मेयर लिसनार्ड र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ ।

फेस्टिभलको रेडकार्पेट र प्रिमियर कार्यक्रममा प्रमुख शाह सहभागी हुनुहुनेछ । यस्तै, अडियो भिजुअल कन्टेन्ट क्रियशन चेनको अवलोकन गर्नुहुनेछ । उहाँको सम्मानमा कान्सको मल्टिमिडिया लाइब्रेरीमा रिसेप्सनको आयोजना हुनेछ ।

फेस्टिभल १२ दिन चल्नेछ । यीमध्ये प्रमुख शाह ३ दिनको कार्यक्रममा सहभागी भएर जेठ ७ गते स्वदेश फर्कनुहुनेछ ।

यस वर्ष फेस्टिभलका लागि नेपालबाट कुनै फिल्म छनोट भएको नभए पनि नेपालमा छायाङ्कन गरिएको ‘द सेमलेस’ अन रिगार्ड विधामा र ‘तारा : अ लस्ट स्टार’ मार्केट स्क्रिनिङ विधामा छनोट भएका छन् । यी दुवै चलचित्रमा नेपाली कलाकार र प्राविधिकको संलग्नता छ ।

यस वर्ष चलचित्र विधामा छानिएका सहरहरुमा नेपालको काठमाडौं, नाइजेरियाको असाबा, मोरक्कोको औराजाजाते, व्राजिलको पेनेडो र अर्जेन्टिनाको भिसेन्ते लोपेज हुन् ।