१५ असार २०८३, सोमबार

कांग्रेसको अवरोधका कारण सरकारको नीति तथा कार्यक्रम अन्योलमा

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३१ वैशाख । मंगलबार संसदको संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।

यसैबीच, सभामुख देवराज घिमिरेले चितवनमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्नुभएको छ । उहाँहरूबीच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदको तयारीबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिनुभएको थियो । उहाँले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्केलगत्तै संवाद सुरु गर्ने बताउनुभयो । उहाँले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराउनुभएको थियो ।

सभामुखले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सकेको थिएन ।