
काठमाडौं, ३० वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफल सकारात्मक भएको नेपाली कांग्रेसले जनाएको छ । बैठकपछि प्रतिक्रिया दिँदै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आफूहरुको मागमा प्रधानमन्त्री सकारात्मक भएको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘हामीले हाम्रो पूर्व अडान राख्यौँ, प्रधानमन्त्री यसमा सकारात्मक हुनुहुन्छ ।’
प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान भएको छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्णप्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी हुनुहुन्थो ।
कांग्रेसले भने गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने अडान राख्दै आएको छ । शुक्रबार सहकारी ठगी प्रकरणमा लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै संघीय संसदका दुवै सदन अवरुद्ध गरेको थियो ।
कांग्रेसले आगामी बैठकमा पनि अवरोध गर्ने चेतावनी दिएपछि सरकार अप्ठ्यारोमा परेको छ ।
लेखकले सोमबार बस्ने संसदीय कार्यसमिति र संसदीय दलको बैठकले थप निर्णय गर्ने बताउनुभयो ।
कांग्रेसले सोमबार अपराह्न २ बजे संसदीय दलको बैठक बोलाएको छ ।








प्रतिक्रिया