१६ असार २०८३, मंगलबार

पूर्वाधारको विकासमा धेरै ठूला सफलता प्राप्त भैसकेका छन् : अध्यक्ष ओली

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २९ वैशाख । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा पूर्वाधार विकासको क्षेत्रमा धेरै प्रगती भएको बताउनुभएको छ । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा उहाँले देशमा सडक, रेल, स्वास्थ्य क्षेत्रमा पूर्वाधार विकासले गति लिएको बताउनुभएको हो । तर उहाँले शिक्षा, स्वास्थ्य क्षेत्रको पूर्वाधार निर्माणमा अस्थिर राजनीतिका कारण बाधा पुगेको उल्लेख गर्नुभयो ।

‘हामीले खासगरी कनेक्टिभिटीका क्षेत्रमा रेलवे, हवाईजहाज, सडक र विद्युत विस्तार, सञ्चार सुविधाको विस्तार जस्ता विकासका पूर्वाधारको क्षेत्रमा निकै ठूलो प्रगती हासिल गरेका छौँ ।’ ओलीले भन्नुभयो । उहाँले नेपाल पहिले जस्तो दुर्गम नभएको भन्दै केही ठाउँ बाहेक दशभर सडक सञ्जाल विस्तार गरिएको चर्चा गर्नुभयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘यर्थाथमा नेपाल पहिला जस्तो दुर्गम देश थियो, सडकका कारण उत्पादनले बजार पाउँदैन भन्ने ठूलो गुनासो थियो । सँगै कृषि उत्पानका सामग्रीले बजार पाएन भन्ने ठूलो गुनासो थियो अहिले केहीकेही ठाउँबाहेक अन्यन्त्र त्यस्तो गुनासो आउने स्थिति छैन् । अहिले हुम्लाको सिमिकोटमा पक्की बाटो जोडिएको छैन नत्र अरु सबै जिल्लामा सदरमुकाम सम्म पक्की बाटोमा जोडिएका छन् ।’

उहाँले देशभरका पालिकाको पक्की बाटो सदरमुकामसम्म जोड्न आफूहरुले अभियान चलाएको स्मरण गर्दै स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सोही अनुसार डाक्टर, नर्स, औषधिउपचार सहितको प्रबन्ध गर्ने योजना सफल नहुनुमा अस्थिर राजनीति कारण भएको जिकिर गर्नुभयो ।

ओलीले भन्नुभयो, ‘अस्थिर राजनीतिक स्थिति र अन्य कारणहरुले गर्दा ति कामहरु सहज रुपमा अघि बढ्न सक्दैनन्, सकेका छैनन् । कतिले बुझ्दैनन्, कतिले भत्काइदिन्छन्, कतिले रोकिदिन्छन् यस्ता खालका कुराले व्यवधान आएको छ ।’ उहाँले बनेका पूर्वाधारको प्रगोगमार्फत कृषि क्षेत्रमा उद्यमशिलताको विकास गरी रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।