
हेटौंडा, २९ वैशाख । बागमती प्रदेश सभाको बजेट अधिवेशन यही वैशाख ३१ गते दिउँसो १ बजेका लागि आह्वान गरिएको छ ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपालको संविधानको धारा १८३ को उपधारा १ बमोजिम बागमती प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णय र सिफारिस बमोजिम प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।
बागमती प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले आगामी जेठ ४ गते प्रदेश सभा अन्तर्गतका विभिन्न पाँच वटा समितिको सभापति पदको निर्वाचन गर्ने विषयमा सबै दलबीच सहमति भएको बताउनुभयो ।
सभामुख पाठकले जेठ ४ गतेसम्म सहमतिको प्रयास गर्ने र सम्भव नभए निर्वाचनमार्फत सभापतिको चयन गर्ने बताउनुभएको छ । प्रदेश सभाको नियमावली २०७४ अनुसार प्रदेश सभामा पाँच वटा विभिन्न समितिहरु रहने व्यवस्था छ ।
प्रदेश सभामा अहिले प्रदेश मामिला समिति, सार्वजनिक लेखा समिति, कृषि, स्वास्थ्य तथा शिक्षा समिति, पर्यटन, उद्योग तथा वाणिज्य समिति र भूमी तथा सहकारी व्यवस्था समिति छन् ।








प्रतिक्रिया