सोमबार, ७ जेठ २०८१
DainikNepal.com
सोमबार, ७ जेठ २०८१

७ सय ६६ बालबालिकाले बीचमै पढाइ छाडे

दैनिक नेपाल २०८१ वैशाख २६ गते ९:१७

मकवानपुर, २६ वैशाख । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिकामा गरिबीका कारण ७ सय ६६ बालबालिकाले बीचमै पढाइ छाड्नु परेको छ । राक्सिराङमा २०८० सालमा ६ हजार ९ सय २ विद्यार्थी भर्ना भएकोमा वर्ष बितिसक्दा ७ सय ६६ जनाले पढाई बीचमै छाडेका हुन्।

यस्तै, राक्सिराङ गाउँपालिका-५ चैनपुरस्थित प्रजा जागृति माध्यमिक विद्यालयमा समेत ३६ जना विद्यार्थीले बीचमै पढाइ छाडेका छन् । विद्यालयमा २ सय ८२ विद्यार्थी भर्ना भएकोमा २ सय ४६ जना मात्र नियमित रूपमा विद्यालय निरन्तर गएको पाइएको छ ।

विपन्न तथा जनजाति समुदायका बालबालिकाले गरिबीकै कारण पढाइ बीचमै छाड्नु परेको छ । विद्यालयले भर्ना अभियान चलाइरहेको भए पनि कति विद्यार्थीले घरपरिवारको आर्थिक अवस्थाका कारण पढाइ निरन्तरता गर्न नसकेको खुलेको छ ।

राक्सिराङ गाउँपालिकाका एक विद्यार्थी रश्मी प्रजा भन्नुहुन्छ, ‘बाबुआमाले जुत्ता विद्यालय पोशाक किन्न नसक्दा पोशाक मिलेन र विद्यालय जान गइन ।’ उहाँकी आमाबुवाले मुस्किलले कक्षा ९ मा भर्ना गर्न सफल भए पनि विद्यालय पोशाक किन्ने आर्थिक स्रोत नभएकाले अब के गर्ने भन्ने चिन्ता बाँकी नै रहेको बताइन्छ ।

यसरी गरिबीका कारणले धेरै बालबालिकाको पढाइमा नरम्रो असर गरिरहेको छ । सरकारले निःशुल्क शिक्षाको व्यवस्था गरे पनि नगदसहितको सहयोग उपलब्ध गराउन नसक्दा गरिब बालबालिका पढाइबाट बाहिरिने क्रम रोकिएको छैन् ।

प्रतिक्रिया
सम्बन्धित