शनिबार, ५ जेठ २०८१
DainikNepal.com
शनिबार, ५ जेठ २०८१

आगलागी प्रभावित गाउँपालिकालाई कामपाको आर्थिक सहयोग

दैनिक नेपाल २०८१ वैशाख २२ गते ६:११

काठमाडौं, २२ वैशाख । काठमाडौं महानगरपालिकाले आगलागी प्रभावित दुई गाउँपालिकालाई आर्थिक सहयोग गर्ने भएको छ । महानगरको विपद् व्यवस्थानि समितिको शुक्रबार बसेको बैठकले आगलागी प्रभावित दाङको राजपुर र गुल्मीको इस्मा गाउँपालिकालाई रु दश/दश लाख सहयोग उपलब्ध गराउने निर्णय गरेको हो ।

महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले आगलागीका कारण घर, गोठ, पशुचौपाया र धन सम्पत्तिको क्षति व्यहोरेका स्थानीयलाई खाद्यान्न, औषधोपचारलगायत अत्यावश्यक सेवाका लागि अनुदान सहायता उपलब्ध गराउने निर्णय गरेको शाहको सचिवालयले जनाएको छ ।

गत वैशाख १६ गते राजपुर गाउँपालिका—७ हाटबास क्षेत्रमा आगलागी हुँदा २५ घर र ३५ गोठ जलेरका थिए । यस्तै, वैशाख ८ र ९ गते गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ घर, ५१ गोठ, १३ भैँसी, ७८ बाख्रा जलेका थिए ।

कामपाले यसअघि पनि महोत्तरी जिल्लाको मटिहानी नगरपालिका—६ जरलहवा टोलका आगलागी पीडितलाई पनि रु १० लाख सहयोग उपलब्ध गराइसकेको छ ।

प्रतिक्रिया
सम्बन्धित