शुक्रबार, ४ जेठ २०८१
DainikNepal.com
शुक्रबार, ४ जेठ २०८१

पहाडी तथा ग्रामीण क्षेत्रमा बढी योजना केन्द्रित गरौँ : मन्त्री थपलिया

दैनिक नेपाल २०८१ वैशाख २० गते २०:३०

हेटौंडा, २० वैशाख । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले शहर भन्दा पनि पहाडी तथा गाउँ क्षेत्रको आवश्यकतालाई बढी केन्द्रित गरी प्रदेश नीति तथा योजना आयोगले योजना बनाउनुपर्ने बताउनुभएको छ ।

बिहीबार वार्षिक योजना तथा दोस्रो आवधिक योजना तर्जुमा सम्बन्धी रामेछाप र दोलखामा आयोजित जिल्लास्तरीय गोष्ठीमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री थपलियाले वर्तमान स्थितिको मूल्याङ्कन गरेर आगामी पाँच वर्षीय योजना तयार गर्नुपर्ने बताउनुभयो । उहाँले डाटाविहीन योजना नहुने र प्राथमिक डाटा नभएमा सहायक डाटाको आधारमा योजना बनाउनुपर्ने बताउनुभयो ।

मन्त्री थपलियाले आफ्नै डाटा सेन्टर स्थापना गर्न पनि सुझाव दिनुभयो । शिक्षा, स्वास्थ्य र रोजगारीको स्थिति निर्क्योल गर्नुपर्ने र कर्मचारीहरूलाई आफ्नो निर्धारित दायित्वमा निपूर्ण भई कार्यसम्पादन गर्न मन्त्री थपलियाले सुझाव दिनुभयो । ठूलो बलिदानीबाट प्राप्त संघीयता र राज्य संरचनालाई बलियो बनाउन थप जरुरी रहेको उहाँको भनाइ छ।

राज्य संरचनाको विकेन्द्रीकरण सहित आगामी दिनहरूमा वित्तीय संघीयतालाई पनि थप प्रभावकारी बनाउँदै लैजानुपर्ने कुरामा जोड दिनुभयो । उत्पादन वृद्धि र रोजगारी सिर्जना गर्न नीति तथा योजना आयोगले रणनीतिहरू तर्जुमा गर्नुपर्ने बताउनुभयो ।

दोलखाको कालिञ्चोक, भीमेश्वर र जिरीलाई पर्यटन सर्किटका रूपमा विकास गर्न र पकेट क्षेत्रहरूको निर्धारण गरी रामेछापलाई जुनार र दोलखालाई चौरीको क्षेत्रका रूपमा विस्तार गर्न उहाँले सुझाव दिनुभयो । आयस्रोतको वृद्धि र राजस्व वृद्धिका योजनाहरू विस्तार गर्नुपर्नेमा उहाँको जोड थियो ।

हरेक पालिकामा आफ्नै स्रोतमा उभिने सक्ने योजना बनाएर अगाडि बढ्नुपर्ने उहाँको भनाई थियो ।  सत्ता समीकरण र संरचना फेरिए पनि योजना फेरिनुहुँदैन भन्ने कुरामा मन्त्री थपलियाको जोड थियो । उहाँले डाँडा पाखाहरूलाई पर्यटन आकर्षणको केन्द्र बनाउन निति तथा योजना आयोगले योजना बनाएर काम गर्न समेत सुझाव दिनुभयो ।

कार्यक्रममा प्रदेश निति तथा योजना आयोग बागमती प्रदेशका उपाध्यक्ष डा. नरविक्रम थापा, मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार डीपी ढकाल, रामेछाप र दोलखाका पालिका प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित