बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

युक्रेनलाई अमेरिकाको अहिलेसम्मकै ठूलो सैन्य सहयोग

दैनिक नेपाल २०८१ वैशाख १५ गते १८:२०

काठमाडौं, १५ वैशाख । अमेरिकाले युक्रेनलाई सबैभन्दा ठूलो सैन्य सहयोग गर्ने घोषणा गरेको छ । यसअन्तर्गत अमेरिकाले युक्रेनलाई ६ अर्ब डलरको सैन्य सहायता उपलब्ध गराउने छ । जसमार्फत युक्रेनले हतियार खरिद गर्नेछ ।

प्याट्रियट इन्टरसेप्टर र नासाम्स एयर डिफेन्स सिस्टम पनि समावेश गरिएको अमेरिकी सञ्चारमाध्यमहरुले जनाएका छन् । उनीहरुको सहयोगले युक्रेनलाई रुसको हवाई आक्रमणबाट बच्न निकै सहयोग पुग्ने छ । युक्रेनले लामो समयदेखि प्याट्रियट मिसाइल प्रणाली उपलब्ध गराउन माग गर्दै आएको थियो ।

अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले शनिबार युक्रेनलाई सैन्य सहयोग गर्ने घोषणा गर्नुभएको हो । यो सहयोग युक्रेन सेक्युरिटी असिस्टेन्स इनिसिएटिभ (युएसएआई) अन्तर्गत दिइएको हो, जसको सहयोगमा युक्रेनले अमेरिकी कम्पनीहरुबाट नयाँ हतियार प्राप्त गर्नेछ ।

पेन्टागनमा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अस्टिनले यो अहिलेसम्मकै ठूलो सैन्य सहायता भएको र युक्रेनलाई छिट्टै हतियार आपूर्ति गरिने पनि बताउनुभयो ।

यो सैन्य सहायता अन्तर्गत युक्रेनले अमेरिकाबाट एन्टी–ड्रोन प्रणाली, आधुनिक हतियार र हावाबाट जमिनमा मार हान्ने हतियार पाउनेछ । विगत दुई वर्षमा युक्रेनलाई ७० मध्यमदेखि लामो दूरीको हवाई प्रतिरक्षा प्रणाली, हजारौं क्षेप्यास्त्र, तीन हजार बख्तरबन्द गाडीका साथै ८०० ट्याङ्क र १० हजार ट्याङ्क विरोधी मिसाइलहरू दिएको अमेरिकी रक्षामन्त्री अस्टिनले बताउनुभयो ।

अमेरिकाले युक्रेनलाई ६० अर्ब डलरको सहायता प्याकेज घोषणा गरेको थियो । यो ६ अर्ब डलरको सैन्य सहायता पनि त्यही प्याकेज अन्तर्गत रहेको पेन्टागनले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकाको सैन्य सहयोगमा खुसी व्यक्त गर्दै रुससँगको लडाईका लागि अझै धेरै वायु रक्षा प्रणाली आवश्यक पने बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित