आइतबार, २३ वैशाख २०८१
DainikNepal.com
आइतबार, २३ वैशाख २०८१

युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग १८ देशको आग्रह

दैनिक नेपाल २०८१ वैशाख १४ गते ७:५४

वासिङ्टन, १३ वैशाख । युद्धविरामको लागि बन्धकलाई रिहा गर्न हमाससँग अमेरिका लगायत विश्वका १८ देशले आग्रह गरेका छन् ।

विश्वका विभिन्न अठार देशले बिहीबार एक संयुक्त वक्तव्य जारी गर्दै हमासले दक्षिणी इजरायलबाट बन्धक बनाएका व्यक्तिहरूलाई ‘तत्काल रिहा’ गर्न आग्रह गरेका हुन् । उनीहरूले बन्धकलाई रिहा गर्दा गाजामा तत्काल र लामो समयसम्म युद्धविराम हुने बताएका छन् ।

संयुक्त राज्य अमेरिका, अर्जेन्टिना, अस्ट्रिया, ब्राजिल, बेलायत, बुल्गेरिया, क्यानाडा, कोलम्बिया, डेनमार्क, फ्रान्स, जर्मनी, हङ्गेरी, पोल्याण्ड, पोर्चुगल, रोमानिया, सर्बिया, स्पेन र थाइल्याण्डका नेताहरूले एकैसाथ जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय कानूनअन्तर्गत संरक्षित गाजामा बन्धक र नागरिक जनसङ्ख्याको भविष्य अन्तर्राष्ट्रिय चासोको विषय हो । गत वर्ष अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासको कब्जामा रहेका नागरिकमध्ये आफ्नै नागरिक पनि रहेको साथै बन्धकहरूलाई मुक्त गर्न सके गाजाभरि थप मानवीय सहायता उपलब्ध गराउन र शत्रुताको विश्वसनीय अन्त्य हुनेछ ।”

“यसबाहेक, गाजाका बासिन्दाहरू ‘आश्रय र मानवीय प्रबन्ध सुनिश्चित गर्न पहिले नै तयारीका साथ आफ्नो घर र आफ्नो भूमिमा फर्कन सक्षम हुनेछन्”, विज्ञप्तिमा भनिएको छ, “हामी यस सङ्कटको अन्त्य गरौं ताकि सामूहिक रूपमा हामी यस क्षेत्रमा शान्ति र स्थिरता ल्याउनका लागि हाम्रा प्रयासहरूमा ध्यान केन्द्रित गर्न सकौं ।”

इजरायलले सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायली सीमा क्षेत्रबाट हमासको आक्रमणको बदला लिन गाजा पट्टीमा हमासविरुद्ध ठूलो मात्रामा आक्रमण सुरु गरेको थियो ।

हमासको आक्रमणमा करिब एक हजार २०० व्यक्तिको मृत्यु भएको थियो भने उनीहरूले दक्षिणी इजरायलबाट २०० भन्दा बढी व्यक्तिलाई बन्धक बनाएका थिए ।

हासको आक्रमणको बदलामा भएको इजरायली आक्रमणका कारण गाजा पट्टीमा ३४ हजारभन्दा बढी प्यालेस्टिनीको मृत्यु हुनुका साथै ७७ हजारभन्दा बढी घाइते भएको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । सिन्ह्वा

प्रतिक्रिया
सम्बन्धित