सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

नेपाल कतार संयुक्त वाणिज्य परिषद्को स्थापना

दैनिक नेपाल २०८१ वैशाख १२ गते १५:३०

काठमाडौं, १२ वैशाख ।  नेपाल र कतारका निजी क्षेत्र सम्मिलित नेपाल कतार संयुक्त वाणिज्य परिषद् स्थापना भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरका अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले नेतृत्व गर्ने परिषद् स्थापनाका लागि बुधबार दुवै चेम्बरबीच सम्झौता भएको हो ।

कतारका अमिर अमिर शेख तमिम बिन हमाद अल थानी र नेपालका प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष जसिम अल थानीले सम्झौतामा हस्ताक्षर गर्नुभयो ।

परिषद्ले व्यापार विस्तार, लगानी प्रवर्द्धन, प्रविधि हस्तान्तरण, पर्यटन प्रवर्द्धनका क्षेत्रमा काम गर्नेछ ।  तिव्र आर्थिक वृद्धि भैरहेको खाडी मुलुक कतारसँग सम्वादका लागि परिषद स्थायी संयन्त्र बनेको छ । संयुक्त वाणिज्य परिषद्को उद्देश्य कतार र नेपालका निजी क्षेत्रबीच सहकार्य र समझदारी बढाउनु हो ।

नेपालीहरुको कामको गन्तव्यका रुपमा चिनिँदै आएको कतारको लगानी आकर्षित गर्न र व्यापार विस्तार गर्न परिषद्ले प्रभावकारी भूमिका खेल्नेछ ।

खाडी मुलुकमा कृषिजन्य उत्पादन, पानी, जडिबुटी, मसला र मसलाजन्य वस्तु लगायतको अत्यधिक माग छ । तिव्र आर्थिक विस्तारका कारण कतार लगानी गन्तव्यका रुपमा रहेको हुँदा नेपालमा लगानी आकर्षित गर्न परिषद्ले प्रभावकारी भूमिका निर्वाह गर्नेछ ।

यसैगरी, पर्यटन प्रवर्द्धनका क्षेत्रमा पनि परिषद्ले काम गर्नेछ । परिषद् स्थापनापछि दुई चेम्बरबीचको सहकार्य थप प्रगाढ भएको र यसले लगानी र व्यापार विस्तारमा सहयोग पुग्ने दुवै अध्यक्षले धारणा राख्नुभएको छ । ‘यस सम्झौताले अगामी दिनमा सहकार्यलाई थप बढाउनेछ ।’ कतार चेम्बरका अध्यक्ष जसिम अल थानीले भन्नुभयो ।

यसैगरी, महासंघ अध्यक्ष ढकालले परिषद्कामार्फत थप सहकार्यका लागि थप काम गरिने बताउनुभयो । ‘कतारको तिव्र आर्थिक विकासबाट फाइदा लिन परिषद्ले निरन्तर काम गर्नेछ ।’ महासंघका अध्यक्ष ढकालले भन्नुभयो । अध्यक्ष ढकालले परिषद्को स्थापनापछि नेपालको जल विद्युत, पर्यटन पुर्वाधार, सूचना प्रविधि र कृषि प्रशोधनका क्षेत्रमा लगानी बढाउन सहज हुने बताउनुभयो ।

यसैगरी, महासंघ र कतार चेम्बरबीचको समझदारी पनि नविकरण भएको छ । नयाँ समझदारीपत्रमा महासंघ अध्यक्ष ढकाल र कतार चेम्बर अध्यक्ष शेख खलिफा बिन जसिम अल थानीले हस्ताक्षर गर्नुभयो ।

सम्झौता पनि कतारका अमिर शेख थानी र प्रधानमन्त्री दाहालको उपस्थितिमा नै भएको हो । महासंघ र कतार चेम्बरबीच सन २००५ मा पहिलोपटक समझदारी भएको हो । त्यसयता दुई चेम्बरले लगानी र व्यापार प्रवर्द्धनमा विविध सहकार्य गर्दै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित