२० असार २०८३, शनिबार

भूकम्पले पुर्‍याएको क्षति व्यक्तिले बिर्सिए पनि राज्यले बिर्सन मिल्दैन : मन्त्री भण्डारी

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले भूकम्पबाट हुने क्षति न्यूनिकरण गर्न संरचनात्मक सुधारको आवश्यकता औंल्याउँदै आवश्यक नीति तर्जुमा गरी कडाईका साथ लागू गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बुधबार गोरखा भूकम्प गएको नौ वर्ष पूरा भएको स्मृतिमा खानी तथा भूगर्भ विभागले आफ्नो परिसरमा भूकम्पबाट क्षति पुगेका संरचना, भग्नावशेषमा पुरिएका नागरिकको उद्दारलगायतका भूकम्पका विभिन्न पक्ष समेटेर बृहत फोटो प्रदर्शनी गरेको छ । प्रर्दशनिमा उपस्थित मन्त्री भण्डारीले गोरखा भूकम्पबाट पाठ सिकेर संरचनात्मक सुधारका काम गर्नुपर्नेमा जोड दिँदै आवश्यक नीति चाँडो बनाउनुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले यस्तो विषयहरुलाई बिर्सिनु हुँदैन् । यो जोखिम सधै रहन्छ । यसप्रतिको सजकता, सचेतता र त्यस सम्बन्धी आवश्यक व्यवस्था गर्न सकेनौँ, त्यसको न्यूनीकरणमा आवश्यक कार्ययोजना बन्न सकेन भने त्यसले सधै हामीलाई पीडा दिने कुरा हुन्छ । संरचनात्मक रुपमा सुधार गर्नुपर्ने कुराहरु धेरै छन् । यसको लागि आवश्यक नीति तर्जुमा गर्नुपर्छ । यसको साथै राज्यले नीतिलाई लागू गर्ने, आत्मसाथ गर्ने कुरामा अझ कडाई गर्नुपर्ने आवश्यकता छ ।’

भूकम्पले पुर्‍याएको क्षतिबारे व्यक्तिले बिर्सिए पनि राज्यले बिर्सन नमिल्ने बताउनुभएको उहाँले विद्यालयको पाठ्यक्रममा भूकम्पबारे जानकारी दिन सरकारकातर्फबाट आफूले पहल गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘भूकम्पले पुर्‍याएको क्षतिबारे व्यक्तिले बिर्सन सक्छ, तर राज्यले बिर्सन मिल्दैन, विद्यालयको पाठ्यक्रममा भूकम्पसम्बन्धी जानकारी समावेश गर्नुपर्छ । त्यसका लागि मैले पहल गर्छु ।’

नेपाल भूकम्पको जोखिमयुक्त क्षेत्र भएकाले भूकम्पको विस्तृत अध्ययन गर्दै पूर्ण सावधानी अपनाउनु जरुरी रहेको उहाँको भनाइ थियो । भूकम्प र त्यसले निम्त्याएको क्षतिबाट देश आजित बनेको बताउनुभएको उहाँले भूकम्पजस्तो विपत्तिबाट पाठ सिकेर काम गनुपर्ने सन्दर्भमा देश पछाडी रहेको बताउनुभयो ।