सोमबार, २४ वैशाख २०८१
DainikNepal.com
सोमबार, २४ वैशाख २०८१

बढ्दो सहरीकरणले भूकम्पीय जोखिम पनि बढायो : राष्ट्रपति

दैनिक नेपाल २०८१ वैशाख १२ गते ९:१९

काठमाडौं, १२ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भौगोलिक अवस्थितिका कारण नेपाल उच्च भूकम्पीय जोखिममा रहेको उल्लेख गर्दै बढ्दो सहरीकरणले जोखिमलाई झन् बढाएको बताउनुभएको छ । उहाँले भूकम्पलाई न्यूनीकरण गर्ने प्रभावकारी उपायको अवलम्बन गर्न र सुरक्षात्मक उपायसम्बन्धी प्रभावकारी जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण समेत गराउनुभएको छ ।

गोरखा भूकम्पको नवौं स्मृति दिवसमा आज एक सन्देश जारी गर्दै पौडेलले भूकम्प र त्यसपछिका परकम्पमा परी ज्यान गुमाउने सबैमा श्रद्धासुमन व्यक्त गर्नुभयो । उहाँले जोखिमको प्रभावकारी न्यूनीकरण गर्नुपर्नेमा समेत जोड दिनुभयो ।

प्राकृतिक विपद् र उच्च भूकम्पीय जोखिममा नेपाल रहेको स्मरण गराउँदै उहाँले बढ्दो सहरीकरणका कारण भूकम्पको जोखिम बढ्दै गएको बताउनुभएको हो । राष्ट्रपति पौडेलले भन्नुभएको छ, ‘भूकम्प एक प्राकृतिक विपद् भएता पनि प्रत्येक वर्ष बढ्दै गएको सहरीकरणले गर्दा पनि भूकम्पीय जोखिम बढाउँदै लगेको छ । भूकम्पलाई रोक्न नसकिएता पनि यसबाट हुनसक्ने सम्भावित जोखिमबाट आफूलाई जोगाउन सकिन्छ ।’

पौडेलले भूकम्पबाट जोगिन सुरक्षा उपायको अबलम्बन र जनचेतना फैलाउन सरोकारवालाको ध्यानाकर्षण गराउनुभएको छ । ‘नेपाल भूकम्पीय जोखिममा पर्नुका मुख्य कारणहरूमध्ये नेपालको भौगोलिक अवस्थिति र बनावटका कारण तथा मानव निर्मित भौतिक संरचना मुख्य जिम्मेवार रहेको छ । हाम्रो मुलुक प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको हुँदा आम जनमानसमा भूकम्पीय जोखिम न्यूनीकरणका प्रभावकारी उपायहरू र सोबाट बच्ने सुरक्षात्मक उपायसम्बन्धी जनचेतना फैलाउनु पनि उत्तिकै जरूरी छ । म यसका लागि सम्बन्धित निकायहरूको ध्यानआकृष्ट गराउन चाहन्छु ।’ राष्ट्रपति पौडेलले भन्नुभएको छ ।

पौडेलले भूकम्प जस्तो प्राकृतिक विपद् सबैका लागि जोखिमपूर्ण हुने र विगतका अनुभवबाट शिक्षा लिएर पूर्वतयारी र चुस्त व्यवस्थापन बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित