शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

साउदीले पाकिस्तानको सुन र तामा खानीमा लगानी गर्ने

दैनिक नेपाल २०८१ वैशाख ८ गते ११:२५

काठमाडौं, ८ वैशाख । आर्थिक संकटबाट गुज्रिरहेको पाकिस्तानमा साउदी अरेबियाले करोडौं रकम लगानी गर्ने भएको छ । पाकिस्तानको तामा र सुन खानी सम्बन्धि परियोजनामा साउदी अरबले ८.३४ करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धता जनाएको हो ।

साउदीका विदेशमन्त्री फैसल बिन फरहानको २ दिने पाकिस्तान भ्रमणका क्रममा लगानी सम्बन्धी सम्झौता भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भ्रमणका क्रममा पाकिस्तानी सेना प्रमुख जनरल असिम मुनीरले साउदीका सहायक रक्षामन्त्री मेजर जनरल अब्दुल्लाह अल–ओतैबीसँग पनि भेट गर्नुभएको थियो । यसक्रममा दुई देशबीच रक्षा उत्पादन र सैन्य तालिमका विषयमा पनि छलफल भएको छ ।

यसअघि पाकिस्तानी प्रधानमन्त्री शाहबाज सरिफ इद उल फित्रको अवसरमा साउदी अरब जानुभएको थियो । उहाँलाई युवराज मोहम्मद बिन सलमानले इफ्तार पार्टीमा निम्तो दिनुभएको थियो ।

आर्थिक संकट र राजनीतिक उथलपुथलमा साउदी सधै पाकिस्तानको साथमा रहेको छ । गत वर्ष जुलाईमा साउदीले पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो । सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो ।

बीबीसीका अनुसार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले आफ्नो कार्यकालमा ३२ वटा विदेश भ्रमण गर्नुभएको थियो । जसमध्ये ८ विदेश भ्रमण साउदी अरेबियाको थियो । सन् २०२१ मा इमरान सरकारको पतनपछि प्रधानमन्त्री बनेका शाहबाज सरिफ पनि आफ्नो पहिलो विदेश भ्रमणमा साउदी नै पुग्नुभएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीहरूले आफ्नो पहिलो विदेश भ्रमणमा साउदी अरब जाने कुरा सामान्य हो । यसको मुख्य कारण पाकिस्तानले साउदीबाट पाउने सहयोग नै हो । साउदी अरब तेलमा आफ्नो अर्थव्यवस्थाको निर्भरता घटाउन चाहन्छ । यस्तो अवस्थामा साउदीले व्यापारका लागि नयाँ साझेदार खोजिरहेको छ । त्यसमध्ये भारत पनि एक हो । तर, उसले पाकिस्तानको पनि चित्त दुखाउन सक्दैनन् ।

यसको प्रमुख कारण इरान हो । १९७९ मा इस्लामिक क्रान्ति पछि, शिया धार्मिक नेताहरू इरानमा सत्तामा आए । इरान शिया बाहुल्य देश भएकाले साउदी अरेबिया यस क्रान्तिबाट निकै डराएको थियो । यसको प्रतिकार गर्न साउदी अरेबियाले पाकिस्तान र भारतलगायत सुन्नी मुस्लिम देशहरूलाई पैसा पठाउन थाल्यो । यसले विश्वभरका देशहरूमा वहाबी इस्लामलाई बलियो बनायो र सम्पूर्ण क्षेत्रमा सुफी इस्लामको उपस्थितिलाई कम गर्न सफल भयो ।

वर्षौंदेखि इरान र साउदीबीच मध्यपूर्वमा प्रभुत्वको लागि लडाइँ भइरहेको छ । यसका लागि साउदी पाकिस्तानलाई आफ्नो क्याम्पमा राख्न चाहन्छ ।

साउदी अरबले सधै पाकिस्तानलाई आर्थिक रूपमा धेरै सहयोग गर्दै आएको छ । गत वर्ष जुलाईमा साउदीले आर्थिक संकटका बीच पाकिस्तानलाई २ अर्ब डलर ऋण दिएको थियो । सन् २०२० सम्म पाकिस्तानलाई ऋण दिने देशहरूमा साउदी पहिलो नम्बरमा थियो ।

साउदीले पाकिस्तानलाई आर्थिक सहयोग गरेर रणनीतिक रूपमा आफ्नो स्थिति बलियो बनाउन चाहन्छ । वास्तवमा पाकिस्तानसँग इरानको सीमा ९०९ किलोमिटर छ । पाकिस्तानबाट निष्कासन गरिएका पत्रकार तहा सिद्दिकीका अनुसार साउदीले आर्थिक प्याकेज र लगानीमार्फत पाकिस्तानी सरकारको वफादारी किनिरहेको छ । पाकिस्तानको सीमामा साउदीले आफ्नै नीति बनाएको छ ।

साउदी अरबमा मक्का र मदिनाको उपस्थितिको कारण, यो इस्लामिक संसारको लागि धेरै महत्वपूर्ण छ । त्यसैले साउदी अरेबियाले प्यालेस्टाइनलाई इजरायलको हिस्साको रूपमा स्वीकार गरेको छैन ।

साउदी अरबका लागि सरकारभन्दा पाकिस्तानको सेना महत्वपूर्ण छ । यसको कारण पाकिस्तानी सेना विश्वको २० औं शक्तिशाली सेना हो । हाल साउदीमा करिब ७० हजार पाकिस्तानी सैनिक छन् ।

२०१८ मा प्रधानमन्त्री हुँदा इमरान खानले ‘साउदी अरबमा मक्का र मदिना छ । यस्तो अवस्थामा त्यहाँ कुनै खतरा आयो भने पाकिस्तानी सेनाले मात्र नभई यहाँका जनताले पनि साउदी अरबको रक्षा गर्नेछन् ।’ भन्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित