बिहीबार, २० वैशाख २०८१
DainikNepal.com
बिहीबार, २० वैशाख २०८१

राजकुमार ह्यारीले बदले आफ्नो ठेगाना

दैनिक नेपाल २०८१ वैशाख ७ गते ६:२०

काठमाडौं, ७ वैशाख । राजपरिवारसँगको विवादका बीच राजकुमार ह्यारीले औपचारिक रुपमा बेलायत छोड्नुभएको छ । ह्यारीले आफ्नो आधिकारिक ठेगाना बेलायतको सट्टा क्यालिफोर्निया, संयुक्त राज्य अमेरिका लेख्नुभएको छ ।

स्काई न्यूजको रिपोर्टका अनुसार पर्यटन च्यारिटी ट्राभलिस्टको कागजातमा प्रिन्स ह्यारीको पूरा नाम र उहाँको प्राथमिक ठेगाना क्यालिफोर्निया लेखिएको थियो ।

यसअघि ह्यारीले सधै आफ्नो प्राथमिक ठेगानाको रूपमा बेलायत लेख्ने गर्नुहुन्थो । यो परिवर्तन २९ जुन २०२३ मा गरिएको थियो । तर, यो जानकारी अहिले बाहिर आएको हो । गत वर्ष जुन २९ मा, बकिङ्घम प्यालेसले ह्यारी र उहाँकी श्रीमती मेगनले अब बेलायतको फ्रोगमोर कटेज छोडेको पुष्टि गरेको थियो ।

फ्रोगमोर कटेज त्यही घर हो जुन रानी एलिजाबेथले उहाँको विवाहमा २०१८ मा उपहार दिनुभएको थियो । वास्तवमा, ह्यारीले आफ्नो संस्मरण ‘स्पेयर’मा शाही परिवारको बारेमा धेरै विवादास्पद टिप्पणी गर्नुभएको थियो । यसपछि ह्यारी र उहाँका बुबा राजा चार्ल्सबीच विवाद बढेको थियो ।

मार्च २०२१ मा, प्रिन्स ह्यारी र उहाँकी पत्नी मेगन मार्कलले एक टिभी च्यानललाई अन्तर्वार्ता दिनुभएको थियो । अन्तर्वार्तामा मेगनले शाही परिवारमाथि नस्लवादको आरोप लगाउनुभएको थियो । उहाँले शाही परिवार आफ्नो छोरा आर्चीलाई राजकुमार बनाउन नचाहेको बताउनुभएको थियो, किनभने उहाँको जन्म हुनुअघि नै उहाँको अनुहार कालो हुने डर थियो । यसपछि राजपरिवारले बयान दिनुपरेको थियो । अन्तर्वार्तापछि दरबारले विज्ञप्ति जारी गर्दै शाही परिवारले रंगभेदसँग सम्बन्धित मुद्दालाई गम्भीरताका साथ लिएको बताएको थियो ।

मेगनले अन्तर्वार्तामा शाही परिवारमा आबद्ध भएपछि आफ्नो स्वतन्त्रता निकै कम भएको खुलासा गर्नुभएको थियो । अन्तर्वार्ताका क्रममा प्रिन्स ह्यारीले आफू र आफ्नी श्रीमतीप्रति गर्व गरेको पनि बताउनुभयो र उहाँले गर्भावस्थामा निकै खराब चरणबाट गुज्रिएको बताउनुभएको थियो ।

प्रिन्स ह्यारी र मेघन मार्कलले २०२० मा राजतन्त्र छोडेपछि बेलायती शाही परिवारसँगको सम्बन्ध बिग्रियो । यसपछि गत वर्ष नेटफ्लिक्समा आएको प्रिन्स ह्यारीको डकुमेन्ट्री र त्यसपछि उहाँको पुस्तक ‘स्पेयर’ले दुई पक्षबीचको विवाद झनै बढाएको थियो ।

राजकुमार ह्यारीले पुस्तक र वृत्तचित्रमा शाही परिवारको धेरै तरिकामा आलोचना गर्नुभएको थियो ।

प्रतिक्रिया
सम्बन्धित