बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

इलाममा भारतीय गाडीको प्रयोग गरी ‘नो भोट’ अभियान, दुर्गा प्रसाईं सहभागी

दैनिक नेपाल २०८१ वैशाख ६ गते १५:५७

इलाम, ६ बैशाख । यही बैशाख १५ हुने इलाम २ को उपनिर्वाचनलाई लक्षित गर्दै सदरमुकाममा ‘नो भोट’ अभियान चलाइएको छ । विहीबार इलाम चोकबजारमा नेपाल र भारतीय नम्बर प्लेटको गाडीमा आएका व्यक्तिहरुले ‘नो भोट’ अभियान चलाउनुभएको हो ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा गरिएको हो । सभामा सहभागी हुन भारतीय र नेपाली नम्बर प्लेट टाँसिएका गाडीहरु सदरमुकाममा आएका हुन ।

सहभागीहरुले धेरैजसो भारतीय नम्बरका सवारी साधनको प्रयोग गरेका छन् र भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको छ । गाडीमा टाँसिएको ब्यानर र प्लेक्समा ‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान’ लेखिएको छ ।

निर्वाचन आचारसंहिता–२०७९ अनुसार निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ । तर नो भोट अभियानमा प्रशासनले अवरोध गर्न नसकेको स्थानीयले बताउनुभएको छ ।

इलाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिता विरुद्धको कार्यक्रम गरिएको भन्दै शीर्ष दलका नेताहरु आक्रोशित भएका छन् । सभामा प्रसाईं आफैं सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया
सम्बन्धित