बुधबार, १९ वैशाख २०८१
DainikNepal.com
बुधबार, १९ वैशाख २०८१

खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्‍याउने लक्ष्य : मन्त्री श्रेष्ठ

दैनिक नेपाल २०८१ वैशाख ६ गते ७:२३

हेटौंडा, ६ वैशाख । बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइ मन्त्री एकालाल श्रेष्ठले प्रदेशको खेतीयोग्य जमिनमा सिंचाइको सुविधा पुर्‍याउने आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

बुधबार हेटौंडा-७ मा रहेको वनदेवी सिंचाइ तथा वातावरण संरक्षण समितिद्वारा २०५६ सालदेखि संचालित सिंचाइ योजनाको निरीक्षण गर्नुहुँदै मन्त्री श्रेष्ठले सिंचाइलाई सबै किसानको पहुँचमा पुर्‍याउने आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको हो ।

स्थानीयको सक्रियतामा २०५६ सालमा इनार खनेर पम्पबाट सिंचाइ गरिरहेका नागस्वतीका किसानले सिंचाइलाई बृहत् सिंचाइको रुपमा लैजान र ७ नम्बर वडाका धेरै खेतीयोग्य जमिनमा सुविधा पुर्‍याउने योजना बनाएको समितिका अध्यक्ष भक्तबहादुर केसीले बताउनुभयो । अहिलेको सिंचाइले वनदेवी टोल, ठूलोटार र धापटोलका केही क्षेत्रमा मात्रै सिंचाइको सुविधा पुगेकोमा यसलाई विस्तार गर्न आवश्यक रहेको बताउँदै उहाँले बजेट उपलब्ध गराउन आग्रह गर्नुभएको थियो ।

मन्त्री श्रेष्ठले आफ्नो मन्त्रालयको र आफ्नो लक्ष्य नै सबै किसानको खेतमा सिंचाइको सुविधा पुर्‍याउने रहेको उल्लेख गर्नुहुँदै आगामी वर्षको बजेटमा सम्बोधन गराउने प्रतिवद्धता व्यक्त गर्नुभयो । सिंचाइलाई नागस्वतीको तल्लो धापटोलसम्म पुर्‍याइ खेतीयोग्य जमिनलाई सिंचाइसँग जोड्न आगामी वर्ष बजेट उपलब्ध गराउने मन्त्री श्रेष्ठले बताउनुभएको छ । अनुगमनमा ७ नम्बर वडाका स्थानीय बासिन्दाहरुको सहभागिता थियो ।

प्रतिक्रिया
सम्बन्धित