मंगलबार, १८ वैशाख २०८१
DainikNepal.com
मंगलबार, १८ वैशाख २०८१

बेमौसमी वर्षाले पाकिस्तानमा ४९ जनाको मृत्यु

दैनिक नेपाल २०८१ वैशाख ५ गते ८:४६

लाहौर, ५ वैशाख । पाकिस्तानमा लगातारको भारी वर्षा र चट्याङका कारण कम्तीमा ४९ जनाको मृत्यु भएको छ ।

अधिकारीहरूका अनुसार देशको दक्षिण–पश्चिम क्षेत्रमा लगातार परेको मुसलधारे वर्षाका कारण आपतकालीन अवस्था घोषणा गरिएको छ।

गहुँ काट्ने क्रममा चट्याङ लागेर केही किसानको मृत्यु भएको छ भने वर्षाका कारण उत्तर पश्चिम र पूर्वी पञ्जाब प्रान्तमा दर्जनौं घर भत्किएका छन् । प्रान्तीय प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता अरफान काथियाले पञ्जाबमा २१ जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार जहाँ यस हप्ता थप वर्षा हुने सम्भावना कायमै रहेको छ ।

अफगानिस्तानसँग सीमा जोडिएको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा प्रकोप व्यवस्थापन प्राधिकरणका प्रवक्ता खुर्शिद अनवरले यो क्षेत्रमा भारी वर्षाका कारण २१ जनाको मृत्यु भएको बताउनुभयो । राजधानी इस्लामावादमा पनि मुसलधारे वर्षा भएको छ भने दक्षिण पश्चिमी बलुचिस्तान प्रान्तमा ७ जनाको मृत्यु भएको छ । उत्तर पश्चिमी सहर पेशावर र बलुचिस्तानको राजधानी क्वेटामा सडकहरू बाढीले क्षतिग्रस्त भएका छन् ।

प्रधानमन्त्री शाहबाज शरीफले यस प्राकृतिक प्रकोपमा आफूले अधिकारीहरूलाई जनतालाई राहत सहयोग उपलब्ध गराउन आदेश दिएको बताउनुभयो । उहाँले वर्षाले पाकिस्तानको जलाशयमा सुधार आउने बताउनुभयो ।

पाकिस्तानी वातावरणविज्ञ राफे आलमले अप्रिलमा यस्तो भारी वर्षा हुनु असामान्य भएको बताउनुभयो । उहाँले दुई वर्षअघि मार्च र अप्रिलमा पाकिस्तानमा तातो लहर आएको र अहिले पानी परेको देखिएको बताउनुभयो ।

प्रतिक्रिया
सम्बन्धित