शुक्रबार, २१ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २१ वैशाख २०८१

इरानले इजरायलमाथि आक्रमण गरेपछि बाइडेनले के भने ?

दैनिक नेपाल २०८१ वैशाख २ गते १०:४८

वासिंगटन डिसी, २ वैशाख । इरानले आइतबार इजरायलमा ड्रोनबाट आक्रमण गरेपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई समर्थन गर्ने बताउनुभएको छ ।

साथै, बाइडेनले आक्रमणपछि इजरायलका प्रधानमन्त्रीसँग कुरा गरी आक्रमणको जानकारी लिनुभएको थियो ।

इजरायली सेनाले इरानविरुद्ध कारबाही गर्न र उनीहरूलाई रोक्न अमेरिकासँग मिलेर काम गरिरहेको बताएको छ । अमेरिकी सेनाले इजरायलतर्फ उडिरहेका केही इरानी ड्रोनलाई पनि खसालेको समाचारमा जनाइएको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग इरानको आक्रमणबारे छलफल गर्न इजरायलको युद्ध मन्त्रिपरिषद् र सुरक्षा मन्त्रिपरिषद्को बैठकपछि कुरा गर्नुभएको छ । राष्ट्रपति बाइडेन र नेतान्याहुबीच २५ मिनेटको कुराकानी भएको थियो ।

बाइडेनले जी ७ को बैठक बोलाउने

बाइडेनले इरानको आक्रमणपछि एक विज्ञप्ति जारी गर्दै ‘म यी आक्रमणको कडा शब्दमा निन्दा गर्छु ।’ भन्ने प्रतिक्रिया दिनुभएको छ ।

बाइडेनले थप भन्नुभयो, ‘मैले इजरायलको सुरक्षाका लागि प्रधानमन्त्री नेतन्याहुसँग कुरा गरेको छु ।’ राष्ट्रपति बाइडेनले इरानको आक्रमणबारे संयुक्त कूटनीतिक वार्ताका लागि अप्रिल १४ मा जी ७ नेताहरूको बैठक बोलाउने र इजरायली नेतासँग सम्पर्कमा रहने जनाउनुभएको छ ।

राष्ट्रपति बिडेनले ट्वीटरमा लेख्नुभएको छ, ‘मैले भर्खरै मेरो राष्ट्रिय सुरक्षा टोलीसँग इजरायलविरुद्ध इरानको आक्रमणको अद्यावधिकको लागि भेटेँ । इरान र यसका प्रोक्सीहरूको खतराबाट इजरायललाई जोगाउन हामी इजरायलको साथमा छौँ ।’

जानकारीका अनुसार बाइडेनले प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्ने क्रममा इरानी आक्रमणको प्रतिक्रिया नगर्न इजरायललाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित