१ श्रावण २०८३, शुक्रबार

नयाँ वर्षसँगै पूर्वबाट नेपथ्य सांगीतिक यात्रा

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बिर्तामोड, १ वैशाख । डोमालाल रंगशालामा शुक्रबार लोक रक ब्याण्ड नेपथ्यको कन्सर्ट हेर्दैगर्दा अधिकांश युवायुवतीहरु भनिरहेका थिए, ‘नयाँ वर्षको स्वागत गजब रमाइलोसँग भयो ।’ अघिल्लो रात बेतोडको वर्षाले पूर्वी तराइको धुवाँधुलोलाई पखाल्नेमात्र होइन चैत अन्तिमको उखरमाउलो गर्मीलाई थोरै राहतमा पनि परिणत गरिदिएको थियो । यसरी वर्षकै अन्तिम साँझ मौसमी अनुकूलताकाबीच ठिक साढे ६ बजे कन्सर्ट प्रारम्भ भयो ।

ब्याण्डले पूर्वी भेगबाटै संकलित ‘कोशीको पानी यो जिन्दगानी’बाट कार्यक्रमको थालनी गरेको थियो । नेपथ्यका अधिकांश प्रस्तुतिहरुमा मध्यतिर मात्र देखिने दर्शकहरुको चर्को उत्तेजना अनि जताततै नृत्यको दृश्य यसपाला बिर्तामोडमा भने प्रारम्भदेखि देख्न पाइयो । अघिल्लो लहरमै उभिएर सुरुदेखि नृत्य गर्ने समूहमा बिर्तामोड–६ की रेशु भुजेल देखिनुहुन्थो । उत्तिकै नाच्ने साथीहरु सीमा र प्रतिमाका साथमा आएकी रेशुले कार्यक्रमबारे प्रतिक्रिया दिने क्रममा दुई वटै हातका बुढी औंला उचाल्नुभयो, आँखा झिमिक्क पार्नुभयो र भन्नुभयो –गज्जब ।

‘कोशीको पानी’ पछि क्रमैसँग ‘भेडाको ऊनजस्तो’ र ‘छेक्यो छेक्यो’ सुनाएपछि नेपथ्यका गायक एवं अगुवा अमृत गुरुङले दर्शकहरुसँग संवादको थालनी गर्नुयो ।

‘बिर्तामोडको यो मञ्चबाट संसारभर फैलिएका नेपालीहरुलाई नयाँ वर्ष २०८१ को शुभकामना दिन चाहन्छु,’ उहाँले दर्शकहरुतर्फ हात फैलाउँदै भन्नुभयो, ‘भोलि यो पूर्वी भेगबाट हुने सूर्योदयले हामी सबैको जीवनमा सुख र शान्ति ल्याओस् ।’

कार्यक्रम सुरु हुनुभन्दा दुई घण्टा अगावैदेखि मैदानमा उपस्थित भएर साथीहरुसँग रमाइलो गरिरहेका देखिने बिर्तामोडका दर्शकहरु अन्य कतिपय मामलामा पनि विशिष्ट देखिन्थे । पहिरनदेखि लिएर संगीत अनुकूल शरीरका बान्कीहरुसम्म मिलेको देख्दा यो सहरमा पश्चिमा सांगीतिक जमघटको प्रभाव भित्रिएको महसुस हुन्थ्यो ।

कार्यक्रममा त्यसपछि अमृतले ब्याण्डको पहिलो रेकर्ड गरिएको गीत प्रस्तुत गर्ने अनुमति माग्दै ‘आँगनैभरि’ सुनाउनुभयो । त्यसलाई ‘लामपाते सुरती’ र ‘चरि म¥यो सिसैको गोलीले’ गीतले निरन्तरता दिएको थियो ।

कार्यक्रम अघि बढ्दै जाँदा एक ठाउँमा अमृतले हालै मात्र रेकर्ड गरिएको ‘पचासै वर्षमा जुग कहाँ पुग्यो नि’ गीत गाइरहनुभएको थियो । त्यसमा करिब २० वर्षकी सरिता पाठक आनन्द लिएर नृत्य गरिरहनुभएको थियो । त्यतिबेलै अमृतले गीतमा व्यक्त गरिएकै भावमा मन्त्रपाठ सुरुगर्दा सरिताले अचम्म मानेर गायकलाई हेर्दै हाँसिरहेको दृश्य निकै रोचक देखिन्थ्यो । मन्त्र सकिनेबित्तिकै हाँस्दा हाँस्दै सरिता फेरि नृत्य गर्न थाल्नुभएको थियो । गीत सकिएपछि आफू कन्सर्ट हेर्नका निम्ति बुधबारेदेखि आएको जानकारी पनि उहाँले दिनुभयो ।

यसरी सांगीतिक यात्रा गर्दा गायक अमृतले ती सहरमा बसोबास गरेर सिंगो राष्ट्रलाई योगदान दिइरहेका सर्जकहरुसँग भेटघाटको क्रमलाई पनि निरन्तरता दिइरहनु हुन्छ ।

बिर्तामोड नेपाली संगीत र साहित्यको सेवामा समर्पित कतिपय सर्जकहरुको कर्मथलो पनि हो । अघिल्लो दिन मात्रै अमृतले पुराना गीतकार शिवशंकर थापालाई उहाँको घरैमा गएर भेट्नुभएको थियो । कयौं कालजयी गीतहरुका सर्जक थापाले त्यस अवसरमा नेपाली लोक संगीतलाई नयाँ पुस्तासम्म लैजान नेपथ्यले दिँदैआएको योगदानको प्रशंसा गर्नुभएको थियो ।

शुक्रबारको कन्सर्टमा अमृतले पूर्वदेखि पश्चिम कुनासम्मबाट पैदल यात्रा गर्दै संकलन गरेका गीतहरु प्रस्तुत गर्नुभएको थियो । कार्यक्रम हेर्नका निम्ति सीमावर्ती भारतीय बस्तीहरु हँुदै सिक्किम र भुटान छेउको जयगाउँसम्मका दर्शकहरु आएका देखिन्थे ।

कार्यक्रमको अन्त्य भने सधै जस्तै नेपाली राष्ट्रिय झण्डाको महिमागान ‘रातो र चन्द्रसूर्य’बाट गरिएको थियो । कन्सर्टमा अमृतलाई ड्रमसेटमा ध्रुव लामा, बेस गितारमा सुबिन शाक्य, गितारमा निरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले सघाउनुभएको थियो ।

‘अघिल्ला दुई पटक जस्तै यसपाला पनि बिर्तामोडले न्यानो स्वागत गरेकामा आभार प्रकट गर्न चाहन्छु ।’ कार्यक्रम सकिएपछि अमृतले प्रतिक्रिया दिनुभयो ।

यसरी पूर्वी नेपालबाट नयाँ वर्षको स्वागतसहित निस्किएको नेपथ्य अब यो वर्षभरि शृंखलाबद्ध यात्रा लिएर स्वदेश विदेशका मञ्चहरुमा उपस्थित हुने भएको छ ।