३२ असार २०८३, बिहिबार

‘देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन्’

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १ वैशाख । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधि सभा सदस्य प्रेम सुवालले उत्पादन श्रमसँग शिक्षा जोड्न नसक्दा नेपाली विद्यार्थी विदेसिने क्रम बढेको बताउनुभएको छ ।

पञ्चकन्या माध्यमिक विद्यालयको ३८औँ स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले विद्यालय शिक्षा जग भएकोले श्रमलाई सम्मान गर्ने र उत्पादन श्रमसँग शिक्षा आवश्यक भएको चर्चा गर्दै किशोरावस्थाको शिक्षा जीवनभर स्मरणमा रहने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, ‘घरको मुलीले घर सम्हाल्न नसके परिवारका सदस्य छताछुल्ल हुन्छ । देश हाँक्ने प्रधानमन्त्री र मन्त्रीहरू गतिला नभए जनताले दुःख पाउँछन् । विद्यालयका प्राचार्य मेहनती भए शिक्षकहरू पनि मेहनती हुनेछन् ।’

नयाँ पुस्तालाई कक्षा १२ उत्तीर्ण लगत्तै विदेश पठाएर देशको भलो नहुने र यस्तै भए यहाँका ज्येष्ठ नागरिकलाई एक गिलास तातोपानी खुवाउने कोही नहुने स्थिति आउनेतर्फ सचेत गराउँदै सांसद सुवालले भन्नुभयो, ‘विदेश पठाइएकाहरूको जीवन पनि सुखी भइरहेको छैन । कतिपय ठगीमा परेका छन् । विदेसिएका नेपालीहरूको दैनिक ५–१० वटा लास नेपाल फिर्ता भइरहेको तर्फ सजग हुनु आवश्यक छ ।’

सांसद सुवालले दुईसय वर्षअघि नै रुसमा १५ वर्षका नयाँ पुस्तालाई पाँचओटा भाषामा पोख्त बनाइएको जानकारी दिँदै नेपाल सरकारले चाहेमा हामीले पनि गर्न सक्ने बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेश सभा सांसद गीता काफ्ले, चाँगुनारायण नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष जनक खत्री, जिल्ला शिक्षा विकास एकाइ प्रमुख कमला ज्ञवाली, नगर शिक्षा शाखाका अधिकृत दिनेश अर्याल, संयुक्त परीक्षा समिति भक्तपुरका अध्यक्ष रोशनराज तुइँतुइँ, विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष हरिहर तिमिल्सिना, विद्यालयका प्रअ नारायणप्रसाद दुलाल, सहायक प्रअ प्रकाश तजलेलगायतले शिक्षा सुधारका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा स्वर्गीय लोचना मल्लको सम्झनामा नातिनी समृद्धि मल्ल र नाति लक्ष्यजित मल्लले दुईजना गरिब तथा जेहेन्दार विद्यार्थीलाई प्रतिविद्यार्थी रु १० हजारको छात्रवृत्ति प्रदान गर्नुभएको थियो । भक्तपुरको बाल मन्दिर स्कुलकी प्रधानाध्यापक समेत रहेकी आफ्नी हजुरआमा लोचना मल्लको सम्झनामा आफूहरूले आगामी दिनमा पनि गरिब तथा जेहेन्दार विद्यार्थीलाई सहयोग गर्ने प्रतिबद्धता गर्नुभएको थियो ।

कार्यक्रममा विद्यार्थीहरूलाई नेपालमा प्रचलित नोटहरूको प्रदर्शनी समेत गरिएको थियो । नेपालमा कस्ता नोटहरू प्रचलनमा आए ० अङ्कदेखि १० लाख नम्बरसम्मका दुर्लभ नोटहरूको विषयमा विद्यार्थी तथा अभिभावकलाई ज्ञान दिने हेतुले उक्त प्रदर्शनी आयोजना गरिएको थियो ।

नेपालको पैसा सबैले देखेका छन् तर पुरानो पैसा एकै किसिमका नम्बरका पैसा तथा ० अङ्कका नोट साथै नोटको पुस्तान्तरणका विषयमा नेपालीहरू अनविज्ञ नै छन् यस्तो अनविज्ञतालाई चिर्न साथै नेपाली पैसाको महत्व दर्साउन नोटहरु प्रदर्शनीमा राखेको नोट प्रदर्शनीमा उपस्थित मन्जित मल्लले बताउनुभयो ।